बाढी राहतमा १ करोड ५ लाख रुपैयाँ आर्थिक सहयोग, संवेदनशील कागजात स्वदेशमै छाप्ने तयारी

2026-11-19 मा प्रकाशित

काठमाडौँ । बाढी विपद्मा परेका नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सुरक्षण मुद्रण केन्द्रले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

सूचना तथा सञ्चार प्रविधि मन्त्रालय मातहत सञ्चालित सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गानाले बिहीबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सहयोग रकमको चेक हस्तान्तरण गर्नुभएको हो ।

चेक हस्तान्तरण कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिना, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम, सञ्चार सचिव राजेन्द्र पौडेल तथा अर्थ मन्त्रालयका सहसचिवहरूको सहभागिता रहेको थियो ।

केन्द्रका अनुसार विपद् प्रभावित परिवारको जनजीवन सहज बनाउन आन्तरिक स्रोत तथा आम्दानीबाट उक्त रकम जुटाइएको हो ।

एक वर्षमा क्षमता विस्तार, २७ लाख चालक अनुमतिपत्र छपाइ

पछिल्लो एक वर्षमा व्यवस्थापकीय तथा वित्तीय सुधारसँगै केन्द्रले आफ्नो कार्यक्षमता उल्लेख्य रूपमा बढाएको जनाएको छ । हुलाक टिकट तथा सवारी चालक अनुमतिपत्र छपाइलाई गति दिँदै लामो समयदेखि थन्किएका २७ लाख थान सवारी चालक अनुमतिपत्र छ महिनाको अवधिमा छापेर यातायात व्यवस्था विभागलाई बुझाइसकेको केन्द्रले जनाएको छ ।

विगतमा सवारी चालक अनुमतिपत्र छपाइका लागि ठूलो परिमाणमा विदेशी मुद्रा बाहिरिने गरेकोमा अहिले देशभित्रै छपाइ सुरु भएपछि विदेशी मुद्रा सञ्चितिमा टेवा पुगेको र आन्तरिक प्राविधिक दक्षता पनि अभिवृद्धि भएको केन्द्रको दाबी छ ।

राष्ट्रिय परिचयपत्र र नागरिकता पनि स्वदेशमै छापिने

कार्यकारी निर्देशक ढुङ्गानाले आगामी चरणमा राष्ट्रिय परिचयपत्र, नागरिकता प्रमाणपत्र तथा अन्तःशुल्क स्टिकरजस्ता अति संवेदनशील र उच्च सुरक्षा आवश्यक पर्ने कागजातसमेत नेपालमै छाप्ने योजना अघि बढाइएको जानकारी दिनुभयो ।

अन्तःशुल्क स्टिकर छपाइका लागि आन्तरिक राजस्व विभागसँग सहकार्य गर्दै आवश्यक कार्यविधि तथा ढाँचा तयार पार्ने काम भइरहेको उहाँले बताउनुभयो ।

महत्त्वपूर्ण सरकारी कागजात स्वदेशमै छापिँदा नागरिकको व्यक्तिगत विवरण तथा तथ्याङ्क सुरक्षित रहने, बाह्य कम्पनी र आपूर्तिकर्तामाथिको परनिर्भरता घट्ने तथा राष्ट्रिय स्वाभिमान र सार्वभौमिकता थप बलियो हुने ढुङ्गानाको भनाइ छ ।

कार्यक्रममा अर्थमन्त्री वाग्ले र सञ्चारमन्त्री तिमिल्सिनाले सुरक्षण मुद्रण केन्द्रको प्राविधिक क्षमता अभिवृद्धि तथा भौतिक पूर्वाधार सुदृढीकरणमा नेपाल सरकारले आवश्यक साथ र सहयोग उपलब्ध गराउने आश्वासन दिनुभएको थियो ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु