सेवानिवृत्त हुदै डाक्टर पिताम्बर ठाकुर

2021-06-06 मा प्रकाशित

मेचीनगर, २२ जेठ ÷ मेची प्रादेशिक अस्पताल भद्रपुरका मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर पिताम्बर ठाकुर आगामी बुधबार वा २६ जेठदेखि सेवानिवृत्त हुँनुहुदैछ ।

२०६० साल जेठमहिनामा कन्सलटेण्ट फिजिसियनका रुपमा जिम्मेवारी समाल्न आइपुग्नु भएका डाक्टर ठाकुर वरिष्ठ कन्सलटेण्ट फिजिसियन पार गदैं प्रमुख कन्सलटेण्ट फिजिसियनका रुपबाट २०७० साल चैत महिनादेखि तात्कालिन मेची अञ्चल अस्पताल भद्रपुरको मेडिकल सुपरिन्टेन्डेन्टको कमाण्ड सम्हाल्नु भएका ६० वर्षीय डाक्टर ठाकुर उमेरका कारण सेवानिवृत्त हुनलाग्नु भएको हो ।

७ वर्ष १ महिना २६ दिनसम्म उहाँले सफलतापुर्वक मेची प्रादेशिक अस्पताल भद्रपुरको मेडिकल सुपरिन्टेन्डेन्टको जिम्मेवारी पुरा गर्नुभयो । तर, उहाँले १८ बर्ष सम्म यस अस्पतालको विभिन्न जिम्मेवारीमा रहेर अनवरत सेवा दिईरहनुभयो । झापामा जेनेरल फिजिसियनको सेवा शुरु गर्ने ‘पहिलो’ चिकित्सक पनि हुनुहुन्छ डा. पिताम्बर ठाकुर ।

२०५० सालमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जबाट एमबीबीएस अध्ययनपश्चात उहाँ मोरङको मंगलबारे प्राथमिक स्वास्थ्य केन्द्रमा आफ्नो जिम्मेवारी सम्हालन आइपुग्नु भएको थियो । त्यहाँ बस्दा पनि उहाँले निक्कै विरामीको उपचार गर्नुभयो । नहासी नबोल्ने, आफ्नोमा उपचारका लागि आउने हरेक विरामीसँग निक्कै मिठो बोल्नेलगायतका उहाँको व्यक्तिगत स्वभावका कारण धेरै विरामीहरु उहाँसँग उपचारका लागि पुग्ने गर्छन् ।

मोरङको मंगलबारे प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत रहेकै बखत स्नातकोत्तर तह अध्ययन गरिसकेपछि डा.ठाकुर मेची अस्पताल आउनुभएको हो । मोरङको मंगलबारे प्राथमिक स्वास्थ्य केन्द्रबाट भद्रपुर आउने क्रममा मंगलबारेवासीले निक्कै दुःख व्यक्त गरेका थिए । अहिले पनि त्यसक्षेत्रबाट डाक्टर ठाकुरसँग उपचार गराउनकै लागि मेची प्रादेशिक अस्पताल भद्रपुर र निजी क्लिनिकसम्म विरामी आउने गरेका छन् । उहिले र अहिलेको भद्रपुर अस्पतालको तुलना गर्दा उहाँ छक्क पर्नुहुन्छ । झण्डै दुईदशकसम्म उहाँले झापालगायत पूर्वी पहाडी जिल्लाका धेरै रोगीको उपचार गरेकै कारण धेरैजनासँग सम्बन्ध राम्रो भएकै कारण उहाँ झापामै रहेर सेवा दिने सोचमा हुनुहुन्छ ।

१८ बर्ष अघि ‘इन्टरनल मेडिसिन’मा एमडी गरेर मेची अस्पतालमा सेवा दिनका लागि आउँदा निक्कै समस्या रहेको स्मरण उहाँको मनशपटलमा ताजै छ । सुविधा सम्पन्न अप्रेसन थिएटर थियो, बेहोस गर्ने ‐एनेस्थेटिक) डाक्टर नभएका कारण जटिल त के सामान्य शल्यक्रिया समेत हुदैन थियो । कुनै पनि विज्ञ चिकित्सक उक्त अस्पतालमा टिक्दैनथिए ।

उहाँमा मेची अस्पतालमा आउँदा उपचार व्यवस्था कसरी चुस्त बनाउने भन्ने चुनौती थियो । त्यो बेलाको अवस्थाको स्मरण गर्दै डा. ठाकुर भन्नुहुन्छ ‘म आएपछि पनि धेरै डाक्टरहरू आउनु भयो । तर दुई दिनमै छोडेर जानु भएको अवस्था पनि थियो ।’

अहिले कोभिड १९ का महामारकिा बखत पनि उहाँले अस्पतालभित्र २५ शैंयाको एचडीयु, अस्पताल परिसर र कनकाई नगरपालिकाभित्र गरेर दुईवटा पीसीआर मेशीन सञ्चालन, अस्पतालमा आइसियु हेमाडाइलोसिस, अल्ट्रासाउण्ड, एसीजी, चौवीसै घण्टा प्रयोगशाला, एक्स रे, वेहोस गर्ने डक्टरको व्यवस्थापन गरेर शल्याक्रिया, ओएसटी फार्मेसी अस्पतालभित्र अक्सिजनको व्यवस्थालगायतका थुप्रै सुधारका काम गरेर उहाँले लोकप्रियता कमाउनु भएको छ ।

प्रारम्भमा एउटा सानो भवनमा सामान्य ‘क्लिनिक’ जस्तो रुपमा रहेको उक्त अस्पताल अहिले चाहिँ अस्पतालको आकार लिएको छ। पछिल्लो समयमा उनले नै मेची अस्पतालको प्रशासनिक कामको नेतृत्व गर्नुभएको थियो ।

जुन बेला उहाँ मेची अस्पताल भद्रपुरमा जेनेरल फिजिसियनको रुपमा काम गर्न आइपुग्नुभयो त्यो बेला झापाबासीले साँच्चिकै चिकित्सक कस्ता हुन्छन्, कमै देखेका थिए ।

अस्पताल भने पनि त्यो बेला प्रयोगशालाको राम्रो व्यवस्था थिएन । भिडियो एक्स–रे, सामान्य शल्य चिकित्सा, इसिजी गर्ने व्यवस्था नहुँदा चिकित्सकहरू मेची अस्पतालमा बस्नै नमान्ने गरेको अवस्थामा डा. ठाकुरले अनवरत् १८ बर्षको सेवा दिनुभयो । तर अस्पतालबाट बिदा लिए पनि उहाँले बाचा गर्नुभएको छ । उहाँले झापा नछाड्ने कतै नजने बचन दिनुभएको छ । यहीँ बसेर मेरो क्षेत्रलाई योगदान दिने उहाँको भनाई छ । बिरामीको सेवा गर्छु ।’

उहाँका अनुसार अहिले मेची अस्पतालमा चिकित्सकहरू टिक्नेसम्मको वातावरण बनेको छ । २०६२÷६३ को जन आन्दोलनको बेलामा डा. ठाकुरले देखाएको सक्रियता झापाबासीले अहिले पनि बिर्सेका छैनन्।

२०६३ साल बैशाख ६ गतेको गोलीकाण्ड सकिएपछि मेची अञ्चल अस्पताल खचाखच थियो। घाइतेहरुको उपचारमा अस्पतालका चिकित्सक लगायत सबै कर्मचारी लागेका थिए । तर उनीहरुको अनुहारमा एक प्रकारको त्रास थियो । कतै अस्पतालमा पनि सेना आइपुग्ने हो कि भन्ने ।

उपचारका संलग्न डा. ठाकुरका अनुसार चिकित्सकहरूलाई पनि प्रशासनबाट उत्तिकै दबाब थियो । डा. ठाकुर सम्झनुहुन्छ ‘त्यस्तो अवस्था कहिले पनि नआवोस अबका दिनमा। त्यो मेरो सेवाका दिनहरूमा सम्झन योग्य घटनाको रुपमा लिन्छु ।’

उहाँ महोत्तरी जिल्लाको महोत्तरी गाउँपालिकामा जन्मनु भएको भए पनि झापाको भद्रपुरमै घर बनाएकाले पनि झापा नछोड्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो ‘सेवानिवृत्तपश्चात कतै अध्यापनतिर पनि लाग्नुपर्ला। मेरो क्षेत्रमा सक्रिय नै रहन्छु। सकुञ्जेल बिरामी हेर्छु ।’

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु