मेचीनगरमा सूर्य, रुद्र तथा त्रयम्बकम हवन एवं यज्ञ आयोजना हुने

2026-05-13 मा प्रकाशित

 मेचीनगर । मेचीनगर नगरपालिका–१, निन्दा सिरानमा आगामी २०८३ साल ज्येष्ठ २, ३ र ४ गते आयोजना हुन गइरहेको सूर्य, रुद्र तथा त्रयम्बकम हवन एवं यज्ञ कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ ।  आदरणीय गुरु प्रेमआङ्गेको योजना तथा मार्गदर्शनमा सञ्चालन हुन लागेको उक्त कार्यक्रमले पूर्वी नेपालमा विशेष आकर्षण बढाएको छ । आयोजक जैमिनी ग्रूप अफ कम्पनी का अनुसार कार्यक्रमको मुख्य उद्देश्य वैदिक तथा अग्निहोत्र कृषि प्रणाली (Homa Farming) को विस्तार, वातावरण तथा जलवायु शुद्धीकरण, गोरक्षा, गोपालन तथा रासायनिक विषादीरहित अर्ग्यानिक खेती प्रणालीको प्रवर्द्धन गर्नु रहेको छ । कार्यक्रममा सूर्य यज्ञ, रुद्र यज्ञ, त्रयम्बकम हवन, सामूहिक अग्निहोत्र, भजन–कीर्तन तथा सत्संग सञ्चालन गरिनेछ । यस अभियानको महत्व केवल धार्मिक पक्षमा मात्र सीमित छैन । अग्निहोत्रबाट वातावरण शुद्ध हुने, मानसिक शान्ति प्राप्त हुने तथा प्राकृतिक ऊर्जा वृद्धि हुने विश्वास गरिन्छ ।

त्यस्तै वैदिक कृषि प्रणालीमार्फत रासायनिक मल र विषादीको प्रयोग घटाई स्वस्थ माटो, शुद्ध अन्न र निरोगी जीवनको सन्देश प्रवाह गरिँदै आएको छ । गोरक्षा तथा गोपालनलाई कृषि र संस्कृतिसँग जोडेर आत्मनिर्भर ग्रामीण अर्थतन्त्र निर्माण गर्ने उद्देश्यसमेत अभियानले लिएको छ । विगत लामो समयदेखि सलकपुर क्षेत्रमा निर्माण गरिएको हवन स्थल तथा आश्रममा देश तथा विदेशबाट साधक तथा पर्यटकहरू आउने क्रम निरन्तर बढ्दो छ । यहाँ महिनौँदेखि वर्षौँसम्म बसेर हवन, ध्यान तथा साधना गर्ने आन्तरिक तथा बाह्य पर्यटकहरूको घुइँचो लाग्ने गरेको स्थानीयहरू बताउँछन् । सलकपुर, निन्दा लगायतका क्षेत्रमा गौँशाला सञ्चालनसँगै विभिन्न प्रकारका अर्ग्यानिक खेतीसमेत भइरहेको छ । विशेषगरी विदेशी पाहुनाहरूले अग्निहोत्र गर्दै प्राकृतिक खेतीमा रमाइरहेको दृश्यले यस क्षेत्रलाई धार्मिक पर्यटन तथा वैदिक कृषि अभ्यासको नयाँ केन्द्रका रूपमा परिचित गराउँदै लगेको छ । कार्यक्रम आयोजकले सम्पूर्ण धर्मप्रेमी, किसान, साधक तथा सर्वसाधारणलाई कार्यक्रममा सहभागी भई आध्यात्मिक तथा प्राकृतिक जीवनशैलीको अनुभव लिन हार्दिक निमन्त्रणा दिएका छन् । 🙏🇳🇵🌺 📍 कार्यक्रम स्थल: मेचीनगर नगरपालिका–१, निन्दा सिरान 🗓️ मिति: २०८३ साल ज्येष्ठ २, ३ र ४ गते 🌾 “स्वस्थ माटो, शुद्ध अन्न, निरोगी जीवन – वैदिक कृषि हाम्रो अभियान” 🌾

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु