मेचीनगर,२६ जेठ । मेचीनगरपालिकामा आजबाट कोभिड–१९ विरुद्धको खोप लगाइने भएको छ ।चीनबाट ल्याइएको भेरोसेल खोपको पहिलो मात्रा ६२ बर्षदेखि ६४ बर्षसम्मका नागरिक र अग्रपंक्तिमा रहेका स्वास्थ्यकर्मीहरुका लागि लगाइने छ ।खोप आज र भोली बिहान १० बजे देखि २ बजेसम्म लगाइने नगरपालिका स्रोतले जनाएको छ ।
सो उमेरसँगै यस अघि जिल्ला बाहिर रहेर भेरोसेलको पहिलो डोजको खोप लगाएका नागरिकहरुलाई समेत खोप कार्डको आधारमा खोप लगाइने नगरपालिका स्वास्थ्य शाखाले जानकारी दिएको छ ।
मेचीनगरमा रहेका ५ वटा स्वास्थ्य चौकीमार्फत १५ वटा वडाका मापदण्ड अनुसारका नागरिकहरुलाई खोप लगाउने व्यवस्था मिलाइएको नगरपालिका स्वास्थ्य शाखा स्रोतले जनाएको छ ।
वडागत खोप केन्द्रहरुमा वडा नम्बर १, २, ३ र ४ का लागि वडा नम्बर ४ स्थित बाहुनडाँगी स्वास्थ्य चौकी, वडा नम्बर ५ देखि ८ सम्मका लागि वडा नम्बर ६ स्थित काँकरभिट्टा स्वास्थ्य चौकी, वडा नम्बर ९ र १० का लागि वडा नम्बर १० स्थित धु्लावारी स्वास्थ्य चौकी भवनबाट खोप लगाउने व्यवस्था मिलाइएको छ ।
त्यस्तै वडा नम्बर ११ र १२ का लागि वडा नम्बर ११ स्थित धाइजन स्वास्थ्य चौकी, वडा नम्बर १३ र १४ का लागि वडा नम्बर १४ स्थित दुवागढी स्वास्थ्य चौकी र वडा नम्बर १५ का लागि वडा नम्बर १५ स्थित ज्यामिरगढी स्वास्थ्य चौकीमार्फत खोप लगाइने व्यवस्था मिलाइएको स्वास्थ्य शाखाले जानकारी दिएको छ ।
खोप लगाउन आउँदा अनलाइनमार्फत भरिएको अनलाइन फारम दर्ता नम्बर र सक्कल नागरिकता साथमा लिएर आउन नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख छ ।झापामा १३ हजार डोज खोप प्राप्त भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । मेचीनगरमा करीब १३ सय डोज खोप प्राप्त भएको बुझिएको छ ।
प्रतिकृया दिनुहोस्