लक्ष्मी उप्रेती
मेचीनगर, १ असार ÷ कोभिड १९ का कारण अहिले विश्व नै ठप्प छ । हरेक सीमानाकाबाट आवतजात बन्द छ । कोभिड १९ का संक्रमित र मृतकहरुको संख्या दिनानुदिन बढिरहेको छ । कोभिड १९ का विरामीहरु अहिले उपचारकालागि अस्पताल भर्ना भएपनि वेड, अक्सिजन, भेन्टिलेटर र औषधि अभावमा जीवनमरणसँग लडाई लडि रहेका छन् । त्यसो त ननकोभिडका रोगी समेत अहिले आफुले नियमित सेवन गर्ने औषधि नपाएर संकट व्यहोर्न बाँध्य छन् । मुटु, क्यान्सर, नसा, हड्डी किड्नीलगायतका दीर्घरोगीहरु समेत अहिले औषधि नपाएर छटपटाइरहेका छन् । यस्तो वेलामा वरदान सावित भएको छ , मेची उद्योग बाणिज्य संघ मेचीनगर । यसैका लागि संघले स्वास्थ्यकर्मी एवम् संघका कार्यकारिणी सदस्य उमानाथ सुवेदी संयोजक रहेका स्वास्थ्य समिति नै निर्माण गरेको छ ।
कुनै वेला नाकाबन्दीका समयमा औषधि उपचार नपाउँदा ज्यानै जाने अवस्थासमेत निम्तियो । सीमा जोडिएका जिल्लामा खोप कार्यक्रम नै अवरुद्ध बन्यो । नाकाबन्दीमा स्लाइनलगायतका औषधिसमेत संकट परेको थियो । अहिले कोभिड १९ का कारण सीमाक्षेत्रमा आवतजावत ठप्प हुँदा ननकोभिड विरामीले सेवन गर्ने औषधिको अभाव भएको छ । अधिकाँश नेपाली विरामीहरुले भारतीय औषधिहरु सेवन गर्ने गरेका कारण अहिले सीमाक्षेत्रमा आवतजावत बन्द हुँदा त्यस्ता औषधि ल्याउन समस्या भइरहेका बखत त्यसलाई सहज बनाईदिएको छ, मेची उद्योग बाणिज्य संघले । संघले अहिले त्यस्ता रोगीहरुको औषधि भारतबाट ल्याएर घर घरमा पुर्याईदिने गरेको छ । जस्का कारण उनीहरुले राहत महशुस गरेका छन् ।
संघले कोभिड १९ को महामारीबाटै यो सेवा पुर्याउँदैं आएको संघका सचिव रविचन्द्र नेपालको भनाई छ । ‘कोभिडको पहिलो महामारीमा सवै लकडाउन भयो, देशनै बन्दाबन्दीको अवस्थामा रह्यो त्यो बेला सवैभन्दा बढी संकटमा परे भारतीय औषधिको भरमा बाचेका नेपाली रोगी’ सचिव नेपालले भन्नुभयो—‘ कोभिडले त संकट निम्तियो नै अब यसले झन महासंकट निम्तिने सम्भावना देखरै संघले स्थानीय प्रशासन स्थानीय सरकार, सरकारी गैरसरकारी संघ संस्थाहरुसँग समन्वय र छलफल थाल्यो । अनि सवैले यो दायित्व संघलाई दिए पछि संघ आफ्नो जिम्मेवारी बहन गर्न लाग्यो ।’ औषधि माग गर्दा जुन सुकै विरामीले पनि डक्टरको प्रेस्किप्सन उपलब्ध गराउनु पर्दछ । प्रेस्किप्सन उपलब्ध भए पछि सके सम्म संघले ती औषधि नेपालकै बजारमा खोज्ने र नपाएपछिमात्र विभिन्न माध्यमबाट त्यो प्रेस्किप्सन भारतीय औषधि व्यवसायीलाई पठाएर औषधि ल्याउने सचिव नेपालको भनाई छ ।
विना प्रेस्किप्सन र मौखिक भरमा संघले औषधि उपलब्ध नगराउने संघका स्वास्थ्य संयोजक सुवेदीको भनाई छ । कोभिडको पहिलो लहरमा ५० हजारबढी नेपाली रोगीहरुको औषधि ओसारेको सुवेदी बताउनुहुन्छ । औषधि ल्याउनुभन्दा अघि संघले नेपाल तथा भारतीय सुरक्षाकर्मीहरुसँग समन्वय गर्ने गरेको छ । जति औषधि संघले ल्याउछ सवै प्रक्रिया पुर्याएरमात्र ल्याउने गरेको सुवेदीको भनाई छ ।
नाकाबन्दीका बेला औषधि खरीदमा बढी खर्च भएको रकम आयातकर्ताले बेहोरेका र उपभोक्ताबाटै असुलउपर गरेका थिए । उपभोक्ता कति मारमा परेका थिए । सामान्यतः आयातकर्ताले भारतबाट आयात गरिएका औषधिमा ७ देखि १० प्रतिशत भन्सारलगायतको शुल्क जोडेर थोक बिक्रेतालाई बिक्री गर्छन् । थोक बिक्रेताबाट खुद्रा बिक्रेतासम्म पुग्दा थप १६ प्रतिशत रकम जोडिन्छ । औषधि व्यवस्था विभागका अनुसार उपभोक्तासम्म आइपुग्दा मूल्यमा न्यूनतम २६ प्रतिशत थप भइसकेको हुन्छ । आयातीत औषधि कति प्रतिशतसम्म नाफा राखेर उपभोक्तालाई बिक्री गर्ने भन्ने बारेमा विभागले अहिलेसम्म मापदण्ड नबनाएकै कारण बिक्रेताले मनपरी गरिरहेको आरोप पनि पटक पटक लाग्ने गरेको छ ।
तर, संघले विरामीको औषधि ल्याईदिए वापत अतिरिक्त कुनै पनि रकम लिने गरेको छैन् । एउटा मानवीय नाताले औषधि अभावका कारण कसैले पनि मृत्युवरण गर्न बाँध्य हुनु नपरोस भनेर संघले स्वास्थ्य समिति नै निर्माण गरी अप्ठयारोमा परेका विरामीहरुलाई सहजरुपमै औषधि उपलब्ध गराएको संघका उद्योग उपाध्यक्ष कपिल क्षेत्रीको भनाई छ । ‘संघले जति पनि नेपाली रोगीहरुका लागि खरिद गरेर औषधि ल्याउने गरेको छ, त्यसमा कुनै पनि अतिरिक्त सेवा सुविधा वापतको रकम लाग्दैन् । ’ उद्योग उपाध्यक्ष क्षेत्रीले भन्नुभयो —‘ बरु कहिले काँहि टाढा टाढा औषधि पठाउनु पर्दा संघकै खर्च हुन्छ त्यो रकम समेत संघले लिने गरेको छैन् ।’ संघले नजीक भएर आफै घरमा औषधि लिएर जाने गरेको छ भने टाढा टाढा भएर स्थानीय प्रशासनको सहयोगमा औषधि पठाइदिने गरेको उहाँको भनाई छ ।
भारतका विभिन्न शहरबाट नेपाली विरामीहरुका लागि औषधि खरीद गरेर ल्याउनु सहज नभएको संघले जनाएको छ । अहिले हप्ताको ३ दिन संघले औषधि ल्याईदिने गरेको छ । भारतको पानीट्याँकीसम्म औषधि आइपुगेपछि स.घका अध्यक्षसहित अन्य पदाधिकारीहरु गएर ल्याउने गरेका छन् । नेपाल र भारततर्फका प्रहरी प्रशासनसँग समन्वय गरेरमात्र औषधि ल्याउने गरिएको संघका कार्यकारिणी सदस्य दिपेन्द्रराज पाण्डेको भनाई छ । दुवैतर्फका प्रहरी प्रशासनको भूमिका यो अभियानमा निक्कै प्रशंसनिय रहेको पाण्डेको भनाई छ ।
कोभिड १९ संक्रमण जोखिमलाई मध्य नजर गर्दै देशका अधिकांश जिल्लाहरुमा निषेधाज्ञा जारी रहँदा हरेकको दैनिकी कष्टपूर्ण बन्दै गइरहेको छ । यस्तो वेलामा मुटु, क्यान्सर, नसा, हड्डी किड्नीलगायतका दीर्घरोगीहरुको अवस्था त झन कहाली लाग्दो छ । कोभिड १९ का बेला आफूले दैनिक रुपमा सेवन गर्ने औषधि अभाव भएपछि नेपाली विरामीहरु मारमा परिरहेका बेला संघको यो कदम देखेर स्वयम् रोगीहरुले नै खुलेर प्रशंसा गरेका छन् । यसपटक वैशाख पहिलो हप्तादेखि संघले यो कार्य शुरु गरेको थियो । अहिलेसम्म एकहजारबढी विरामीका लागि भारतबाट औषधि माग गरी घर घरमा पुर्याईएको संघले जनाएको छ । संघले झापाका विरामीहरुका लागि मात्र होइन वागमती, गण्डकी, प्रदेश नम्बर १ का विभिन्न जिल्लाका विरामीहरुका लागि दिनहुँ औषधि मगाईरहेको छ । अहिले त विरामीका आफन्तहरु औषधिको प्रेस्किप्सन लिएर संघमै आउने गरेका छन् ।
भारतमा बनेका वा भारतमा पाइने औषधि सेवन गरिरहेका नेपाली विरामीहरुलाईे लकडाउनले समस्यामा पारीरहेका बखत संघले मेचीनगर नगरपालिका, इलाका प्रहरी कार्यालय काँकरभिट्टा र सशस्त्र प्रहरीको सहयोगमा भारतको सिलीगुडीलगायत अन्य शहरबाट औषधि ल्याउने जुन काम गरिरहेको छ त्यसको तारीफ गर्न नै पर्ला । तर, कहिलेसम्म नेपाली रोगीहरु भारतीय औषधिकै भरमा बाच्नुपर्ने हो त्यसतर्फ सम्बन्धित पक्षले बेलैमा ध्यान दिने जरुरी छ । अनि नाकाबन्दी र कोभिड १९ का बेला भएको औषधि अभाव कम गर्न पनि नेपाली उद्योगहरूले उत्पादन क्षमता बढाउन पनि जरुरी देखिन्छ ।
प्रतिकृया दिनुहोस्