को हुन् भण्डारी

2022-05-10 मा प्रकाशित

।। झुलन रेग्मी ।।

मेचीनगर, २७ बैशाख । झट्ट देखिँदा सानो कदको मान्छे । तर, अनुभव र चेतनाले अग्ला । त्यही चेतनाले उनी मुलुक रुपान्तरणको क्रान्तिमा जोडिए ।

क्रान्तिले साँच्चै उठायो उनलाई । क्रान्तिले उठाएन मात्र, उनले क्रान्तिलाई आत्मसात गरे ।

जतिबेला उनी १४ वर्ष थिए । यो परिचय अरु कसैको होइन, मेचीनगर नगरपालिकाका लागि गठबन्धनको तर्फबाट उपप्रमुखका प्रत्यासी प्रकाश भण्डारीको हो । अहिले पनि उनमा हिजोको जोसजाँगर पटक्कै मरेको छैन ।

उनी भन्छन्, ‘मेरो उर्जा र इन्द्र दाईको सुझबुझपूर्ण रणनीतिले मेचीनगरलाई उत्कृष्ट बनाउन सम्भव छ ।’ उनले मेचीनगरमा गठबन्धनको जीत निश्चित भएको दाबी गरे ।

उपप्रमुखका उम्मेद्वार भण्डारीले मेचीनगरमा काँग्रेस, नेकपा माओवादी केन्द्र तथा जनता समाजवादी पार्टीका उम्मेद्वारले जित्ने र नगरलाई मुलुककै नमूना बनाउने बताए । भण्डारी क्रान्तिबाट खारिएका र प्रगतिशील सोचका युवा हुन् ।

२०३६ साल जेठमा जन्मिएका उनको राजनीति बाहेक समाजसेवा रोजाइ हो । ‘म सामान्य किसानको छोरो हुँ,’ उनले भने, ‘सकारात्मक सोच र अथक प्रयासमा नै परिवर्तन निहीत छ, म त्यसमा दृढ छु ।’ २०४९ सालमा खुट्टेडाँगीस्थित कवि शिरोमणि माध्यमिक विद्यालयमा पढ्दै गर्दा विद्यार्थी राजनीतिमा होमिएका भण्डारी २०५६ सालमा धुलाबारी क्यापस इकाई कमिटीको सचिव बने । उनले त्यहीबेला आफूलाई अब्बल सावित गरे ।

त्यसबेला धुलाबारी क्याम्पसमा स्ववियु थिएन । उनले आफ्नै पहलमा विद्यार्थीको हकहितका लागि स्ववियु स्थापना गरे । भण्डारीले त्यसबेला तत्कालीन मालेको अखिल, एमालेको अनेरास्ववियु र क्रान्तिकारी अखिलबीच गठबन्धन गरेर स्ववियु चुनाव गराउन पहल गरेका थिए । त्यो बेलाको गठबन्धनको अनुभव वैशाख ३० को निर्वाचनमा समेत उपभोग गर्ने योजनामा भण्डारी छन् ।

भण्डारी ०५७ सालमा धुलाबारी क्याम्पसमा ४९७ मत ल्याएर स्ववियुको संस्थापक उपसभापति बने । त्यसबेला संगठनको जिल्ला नेतृत्वमा समेत पुगे । विद्यार्थी जीवनको राजनीतिक करियरलाई नेकपा माओवादी प्रदेश १ सदस्यसम्म पुर्याएका भण्डारी यसपटक मेचीनगरको स्थानीय सरकारको नेतृत्व गर्ने योजनामा छन् ।

प्रगतिशील सोचका भण्डारी सानै उमेरमा भूमिगत भए । भण्डारीले माओवादी पार्टीकोे जिल्ला कमिटी हुँदै मेचीनगरको नेतृत्व सम्हालिसकेका छन् । सातौँ जिल्ला सम्मेलनबाट उनी माओवादीको झापा जिल्ला कमिटी सदस्य भए ।

त्यसपछि उनले इलाम र झापामा आफूलाई सक्रिय राखे । इलामको दानाबारीमा सम्पन्न अनेरास्ववियुको ८ औँ सम्मेलनपछि रमेश सुवेदी, विवेक गौतम र उनले अनेरास्ववियु क्रान्तिकारीलाई थप विस्तार गरे । त्यसबेला अनेरास्ववियु देशभरकै चर्चामा थियो ।

उनी विद्यार्थीसँगै पार्टीले सञ्चालन गरेको आन्दोलनमा जोडिए । त्यसबेला उनी दमकको शिव एरियाको इन्चार्ज बने । उनले झापाका हरेक ठाउँमा पुगेर संगठन गरे । पार्टी मोर्चा सम्हाले । अहिले पनि त्यसमा कमी आएको छैन । ०६२÷०६३ को जनाआन्दोलनपछि उनी माओवादी पार्टीका तर्फबाट झापा १ को इञ्चार्ज बने ।

देश संघीयतामा गएपछि त्यसको कार्यान्वयन र संस्थागत गर्ने कार्यमा उनको भूमिका निरन्तर छ । १४ वर्षको उमेरबाट राजनीतिक जीवन सुरु गरेका उनले सानैदेखि समाजमा परिवर्तनको पक्षधरको छवि बनाए ।

सामाजिक, राजनीति र शिक्षा क्षेत्रमा परिवर्तन जरुरी भएको निष्कर्षमा पुगेका भण्डारी हरेक क्षेत्रको विभेद अन्त्यमा जोड दिन्छन् । उनले विद्यार्थीकालबाटै आवाज उठाइरहे–मजदूर, किसान र गरिबीका पक्षमा । यसैमा सदैव बहस गर्दै आएका भण्डारीले पछिल्लो कालखण्डमा साँच्चिकै परिवर्तनको सम्वाहकको रुपमा पहिचान बनाए । अनि नेकपा माओवादी पार्टीमा पूर्णकालीन कार्यकर्ताको रुपमा आफूलाई समाहित गराए ।

जनजीविका र अधिकारका निम्ति अग्रमोर्चामा उभिएका प्रकाशले युद्धको समापनसँगै माओवादी पार्टीले लिइएको एजेण्डा कार्यान्वयन सुरु भएको बताए । ती एजेण्डाहरु कार्यान्वयन गराएरै छोड्ने दृढताका साथ स्थानीय तहको निर्वाचनमा देशकै ठूलो नगर मेचीनगरको उपप्रमुखको प्रत्यासीको रुपमा अहिले उनी जनअनुमोदित हुन जनताको घरआँगनमा मत मागिरहेका छन् ।

उनले नगरको स्वास्थ्य, शिक्षा, रोजगारी, महिला, आदिवासी, विपन्नका समस्यालाई नजिकबाट नियालेका छन् । चुनाव जित्नेमा ढुक्क देखिएका भण्डारी समाजमा विद्यमान समस्यालाई समाधान गर्न कुनै कसर बाँकी नराख्ने योजनामा छन् ।

उनले आफू लगायत गठबन्धन दलका उम्मेद्वारलाई मतदान गरी विजयी बनाइदिन आग्रह गरे । पार्टीले सञ्चालन गरेको संघर्षका क्रममा आँखामा समस्या आएर दुःख बेहोरेका भण्डारी स्वास्थ्य सेवा निःशुल्क हुनुपर्ने मान्यता राख्छन् । पैसा अभावमा उपचार नपाएर छटपटिरहेका नागरिकलाई सहजरुपमा उपचार सेवा पुर्याउन दत्तचित्त भएर लाग्नेमा प्रतिबद्ध देखिएका उनी एक्लै होइन सबै मिलेर परिवर्तन गर्न सम्भव हुने बताउँछन् ।

सीमा समस्या, सुकुम्बासी समस्या, बेरोजगारी अन्त्य उनका आगामी कार्यसूची नै हुन् । त्यसमा नीतिगत योजना नै बनार अघि बढ्ने सोचमा रहेका भण्डारी गुणस्तरीय भौतिक पूर्वाधार निर्माणमा जोड दिन्छन् ।

मेचीनगरलाई सुशासन र भ्रष्टाचारमुक्त बनाउने उनको संकल्प नै हो । जनताले वडा कार्यालयबाटै सिंहदरबारको सेवा सरल र सुलभ तरिकाबाट लिन पाउने व्यवस्थापनमा आफू लागि पर्ने उनले बताए । उनले छाता, रुख र गोलाकारभित्रको हँसिया हथौडामा मत दिएर गठबन्धन पक्षधर उम्मेद्वारलाई जिताउन अपिल समेत गरे ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु