झापा । २०७० र २०७४ को निर्वाचनमा झापा १ मा पराजय ब्यहोरेका काँग्रेस महामन्त्री विश्वप्रकाश शर्मा यसपटक ठूलो मतान्तरले विजयी बन्ने एक सर्भेक्षणले देखाएको छ ।
दक्षिण एशियाली राष्ट्रहरुमा अधिकांश चुनावअघि सर्भेक्षण गरेर परिणाम मिलाउँदै आएको र एक्जिट पोलमार्फत पनि तथ्यपूर्ण अनुमान लगाउँदै आएको चर्चित संस्था ‘फ्याक्ट चेक फर पब्लिक’ ले झापा १ मा एक साता लगाएर गरेको सर्भेक्षणले शर्मा बलियो अवस्थामा रहेको देखाएको हो ।
पछिल्ला केही दिनमा यहाँका विभिन्न बजार, गाउँ, टोल र चोकहरूमा पुगेर सो संस्थाका एक दर्जनभन्दा बढी प्रतिनिधिले झापा १ का मतदातालाई भेटेका थिए । त्यसक्रममा मतदाता संख्याको ठूलो संख्याले यसपटक काँग्रेस नेता शर्मालाई मत दिने बताएको उक्त सर्भेक्षणको रिपोर्टमा उल्लेख छ ।
सो संस्थाले यसपालिको चुनावमा मतदाताले कसलाई मत दिन्छन्, यहाँका मतदाताका चुनावी प्राथमिकता के हुन् रु यिनै विषयमा मतदाताको मन बुझ्न र विश्लेषण गर्न यो क्षेत्रका ३ सय जनासँग कुराकानी गरेको सो संस्थाले शर्माका पक्षमा ठूलो जनमत रहेको देखाएको छ ।
स्मरणीय छ, यही संस्थाले केहीअघि भारतको नयाँ दिल्ली विधानसभा निर्वाचनमा अरविन्द केजरीवालको पार्टीले जित्ने अनुमान सार्वजनिक गरेको थियो । उसको सर्भेक्षण सही सावित भएको थियो ।
नेपालकै पनि २०७४ को निर्वाचनमा फ्याक्ट चेक फर पब्लिकले सर्भेक्षण गरेर वाम गठबन्धनले दुई तिहाई नजिक परिणाम ल्याउने अनुमान सार्वजनिक गरेको थियो । नभन्दै तत्कालीन वाम गठबन्धन दुई तिहाई नजिकको सफलता हात पार्न सफल भएको थियो ।
फ्याक्ट चेक फर पब्लिकले झापा १ मा प्रत्यक्ष भेटेर कुराकानी गरेका ३०० जना मतदातामध्ये शर्मालाई भोट दिन्छु भन्नेहरू १८३ जना अर्थात् ६१ प्रतिशत छन्। जबकि एमालेका अग्नि खरेललाई मत दिन्छु भन्नेहरू ६९ जना अर्थात २३ प्रतिशत मात्रै छन्।
यसबाहेक १७ जना अर्थात् साढे ५ प्रतिशतले स्वतन्त्र उम्मेद्वारलाई मत दिने बताएका छन् भने ३१ जना अर्थात १० दशमलव ३ प्रतिशतले कसलाई मत दिने टुंगो गरिसकेका छैनन् । माथिको यो आँकडाले देखाउँछ यो क्षेत्रमा शर्माले यसपालि निर्वाचन जित्ने सम्भावना ज्यादै बलियो छ।
२०७४ को निर्वाचनमा तत्कालीन वाम गठबन्धनका राम कार्कीसँग पराजित शर्मालाई यसपटक मत कसरी थपिँदैछ हेरौं।
३ सय जनामध्ये १७५ जना यस्ता मतदाता छन्, जो परम्परागत रुपमै एमालेलाई भोट दिँदै आएकाहरु छन् । उनीहरुमध्ये बहुसंख्यकले यसपटक काँग्रेसका शर्मालाई मत दिने बताएका छन् । उनले मत पाउनुको अर्थ भनेको एमालेको परम्परागत मत भत्किनु हो ।
तीन सय मतदातामध्ये धेरैले शर्मालाई ‘एक पटक अवसर दिएर हेर्ने’ बताएका छन् भने अधिकांशले मन्त्रीसमेत भइसकेका अग्नि खरेल असफल भइसकेको प्रतिक्रिया दिए । खासगरी काठमाडौंमा ठगी गर्ने इच्छाराज तामाङको मुख्य सहयोगी बनेको, संसद् विघटनको मुख्य सल्लाहकार भएको भन्दै अग्निप्रति मतदाता रुष्ट देखिए।
सर्भेक्षणमा कुराकानी गरेका धेरै मतदाता यसपालि यहाँ शर्मा र अग्निबीच नै मुख्य प्रतिस्पर्धा हुने ठान्छन्।
पछिल्लो ५ वर्षमा शर्मा र अग्नि सम्मिलित दलहरूको गठबन्धन मात्र होइन, यी दुई जनाको राजनीतिक छवि र हैसियत पनि फेरिएको छ। काँग्रेस नेता शर्मा महामन्त्रीमा निर्वाचित भएर पार्टी सभापति र प्रधानमन्त्री दाबी गर्ने हैसियतमा उक्लिएको र अग्नि भने सामान्य सांसद्मै सिमित हुने मतदाताको बुझाई छ ।
‘यसपालि गठबन्धनले जित्ने र सरकार बनाउने निश्चित छ’, अहिलेसम्मको हरेक चुनावमा एमालेलाई सहयोग गर्दै आएका झापा १ का मतदाता मधुसुधन प्रसाइँले भने ‘त्यस्तो अवस्थामा पार्टीका महामन्त्री विश्वप्रकाशले राम्रो अवसर पाउन सक्छन् । तर, एमालेले सरकार बनाउने सम्भावना शुन्य बराबर छ । त्यस्तोमा अग्निलाई हामीले किन भोट दिने रु फेरि उनी यो क्षेत्रका पनि होइनन् ।’
स्थानीय उम्मेद्वारहरुलाई नै एमालेले अघि सारेको भए आफुले सोच्न सक्ने उनी बताउँछन् । ‘तर, अब त्यो सम्भावना सकियो’, प्रसाइँले भने ‘ अग्निलाई जिताउन लाग्दा आफ्नै क्षेत्र पछि पर्छ भन्ने हाम्रो बुझाई छ । उनलाई न यो क्षेत्रप्रति लगाव छ । न केही छ । शर्मा त यहीँका बासिन्दा हुन् । दुई पटक हार्दा पनि यहाँको विकासका लागि कटिबद्ध भएर लागेको देखियो । त्यसैले एकपटक उनलाई चुन्ने भन्ने हाम्रो ठहर छ ।’
प्रतिकृया दिनुहोस्