सहारा नेपाल साकोसले २६ औं वार्षिक साधारण सभाको प्रतिबेदन सार्वजनिक

2022-12-23 मा प्रकाशित

झापा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले २६ औं बार्षिक साधारणसभाको प्रतिवेदन सार्वजनिक गरेको छ ।

संस्थाको भोलि (शनिबार) हुने अन्तिम निर्णय पुस्तिका प्रमाणित भेलाको पूर्व सन्ध्यामा आज प्रतिवेदन सार्वजनिक गरेको हो । संस्थाले प्रदेश सहकारी रजिस्ट्रार कार्यालय इटहरीको निर्देशन अनुसार एकाईगत साधारणसभा सम्पन्न गरिसकेको छ । संस्थाले नीति तथा कार्यक्रमहरुलाई एकाई साधारण सभामा सदस्यहरु माझ छलफल तथा सुझाव संकलनपछि प्रतिवेदनलाई अन्तिम रुप दिने कार्य सम्पन्न गरी सार्वजनिक गरेको संस्थाका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले जानकारी दिए ।

विश्व बजारमा परेको आर्थिक मन्दी र नेपालका बैंक तथा वित्तीय संस्थाहरुमा तरलता अभाव भैरहेको अवस्था पनि संस्थाले सहज ऋण लगानी र सदस्यहरूको वचतको पूर्ण सुरक्षा प्रदान गर्दै आएको गिरीले बताए । कार्यकारी प्रमुख गिरीले संस्थाको सदस्य, सदस्य संरक्षण, समुदायप्रतिको चासोलगायतले मुलुककै पहिलो र उत्कृष्ट संस्थाको रुपमा सहारा नेपाल साकोस भएको जानकारी दिए ।

संस्थाको वित्तीय अवस्थालाई अझ मजबुत बनाउने सोचका साथ मिसन ०८८ सम्मको रणनितिक योजना निर्माण गर्दै एक खर्वको वासलात बनाउने लक्ष्य लिएको जनाइएको छ । हाल ७९ वटा सेवा केन्द्रबाट सेवा प्रदान गर्दै आएको संस्थामा १ लाख ५९ हजार ७७८ जना शेयर सदस्य रहेका छन् ।

त्यस्तै संस्थाको शेयर पूँजी १ अर्व ६३ करोड १६ लाख, जगेडा कोष १ अर्व ११ करोड ११ लाख, अन्य कोष ४४ करोड ७१ लाख, बचत १ अर्ब २५ करोड ३६ लाख लगानीमा रहिरहेको ऋण १ अर्व, भौतिक सम्पत्ती ४१ करोड १६ लाख र बाह्य ऋण १ अर्व ७२ करोड रहेको छ । आर्थिक बर्ष २०७८÷०७९ असार मसान्त सम्मको संस्थाको वासलात १५ अर्व ३८ करोड पुगेको छ । संस्थाले यसवर्ष ४९ करोड ७७ लाख खुद नाफा गरेको जनाइएको छ । सदस्यलाई लाभास र संरक्षित पुँजी फिर्ता कोषवाट ३० करोड १५ लाख बितरण गरिने भएको छ ।

यसवर्ष संस्थाले विगतका सदस्य केन्द्रीय कार्यलाई निरन्तरता दिदै केही नयाँ थप कार्यक्रमहरु विश्वस्तरमा सञ्जाल निर्माण गर्ने भएको छ । संस्थाले जस अन्तरगत रोजगार शाखा स्थापना गरी रोजगारी सिर्जनामा पहल, सामाजिक व्यावसाय सञ्चालन र अति विपन्न गरीबलाई माथि उकास्न पहल गर्ने जस्ता कार्यक्रम प्रस्ताव गरेको छ । आन्तरिक व्यवस्थापन र गुणस्तरीय सेवालाई मजबूत बनाउँदै संस्थाले प्रविधीमैत्री एटिएम ट्याबलेट, मोबाइल एप्स, क्यूआर कोड र एसएमएस। बैंकिङ सेवा संचालनमा ल्याएको छ ।

त्यस्तै संस्थालाई अझ बलियो बनाउन यसबर्ष पनि एकिकरण प्रक्रियालाई निरन्तरता दिइने गिरीले जानकारी दिए । संस्थाले यस आर्थिक बर्षभित्र ८९ वटा सेवा केन्द्र, १ लाख ७५ हजार सदस्य र १७ खर्बको वासालात बनाउँदै ६२ करोड नाफा गर्ने उदेश्य राखेको छ ।

संस्थाका अध्यक्ष हरिबहादुर राजवंशीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत महिला उपाध्यक्ष पवित्रा सुब्बाले गरेकी थिइन् । कार्यक्रममा प्रथम उपाध्यक्ष छबिलाल खतिवाड, द्धितीय उपाध्यक्ष ज्ञानुनाथ मैनाली, कोषाध्यक्ष डम्बरबहादुर देउजा, सदस्य पार्वता गिरी, बिन्दु श्रेष्ठ, संस्थाका निर्देशक लक्ष्मण खतिवडालगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन संस्थाका उप–निर्देशक दिनेशबहादुर निरौलाले गरेका थिए ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु