मेचीनगर, ३० बैशाख । मेचीनगर–९ वडा कार्यालयले विशेषज्ञ डाक्टर बोलाएर जेष्ठ नागरिकको निःशुल्क स्वास्थ्य जाँचसहित औषधि वितरण गरेको छ । वडा कार्यालयले धुलाबारीको मेचीनगर सहकारी सभाहलमा शनिबार (आज) निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिरहेको हो ।
वडा नंं. ९ को जेष्ठ नागरिक स्वास्थ्य शिविर सञ्चालन समितिले आयोजना गरेको कार्यक्रममा ६ जना फिजिसियन डाक्टरबाट स्वास्थ्य जाँच गर्नुका साथै निःशुल्क औषधि वितरण गरिएको वडा सदस्य धनकुमार श्रेष्ठले बताए ।
शिविरमा डाक्टरहरुको सेवासहित एक्सरे, इसीजी, ल्याव टेष्ट, थेरापी, युएसजी, टिवी स्क्रिनिङ सेवा दिइएको छ । स्वास्थ्य शिविरमा हरि हलेसीले प्राविधिक सहयोग उपलब्ध गराएको हो ।
उमेर पाको हुँदै गएपछि विभिन्न खाले रोगहरुबाट पीडित भएका जेष्ठ नागरिकलाई लक्षित गरी स्वास्थ्य शिविर आयोजना गरिएको शिविर सञ्चालन समितिका सचिव राजु धिमालले जानकारी दिए । उनका अनुसार शिविरमा एकजना बिरामी बराबर १५ सय रुपैयाँको स्वास्थ्य प्याकेज निःशुल्क उपलब्ध गराइएको छ । ४ सय बढी जेष्ठ नागरिकको स्वास्थ्य जाँच गराउने लक्ष्य राखिएको धिमालले बताए ।
स्वास्थ्य शिविर सञ्चालन समितिका अध्यक्ष रोहित ढुंगानाको अध्यक्षता तथा मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीको प्रमुख आतिथ्यतामा भएको उद्घाटन कार्यक्रममा वडाध्यक्ष कञ्चन तामाङले मन्तव्य राखेका थिए । विहान ९ बजेबाट सुरु भएको स्वास्थ्य शिविर ५ बजेसम्म सञ्चालन हुनेछ ।
प्रतिकृया दिनुहोस्