‘लागुऔषध नियन्त्रणका लागि हरेक कोणबाट बहस र पैरवी आवश्यक’

2023-06-20 मा प्रकाशित

मेचीनगर,५ असार । लागुऔषध नियन्त्रण वर्तमान परिस्थितीको सबैभन्दा ठुलो चुनौती बनेको भन्दै यसलाई अभियान मात्रै नभएर मुद्दाको रुपमा बहस र पैरवी गर्न आवश्यक रहेको यस क्षेत्रका सरोकारवालाहरुले बताएका छन् ।

मंगलबार इलाका प्रहरी कार्यालय र मेची सामुदायिक सेवा केन्द्र काँकरभिट्टाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै सरोकारवालाहरुले लागुऔषध नियन्त्रणलाई हरेक कोणबाट छलफल गर्दै आम नागरिकको साझा मुद्दाको विषय बनाउनुपर्ने धारणा राखेका हुन् ।

हरेक गाउँ, समाज, टोल विकास संस्था, विद्यालय सम्पुणर् स्थानमा यस सम्बन्धी वहस र पैरवी आवश्यक रहेको सरोकारवालाको भनाई थियो । अन्तर सिमा संवाद, खुला सिमामा कडाई, हरेक विद्यालयमा सचेतना कार्यक्रम गर्दै सम्पुणर् नागरिक सचेत बन्न सके मात्रै लागुऔषध नियन्त्रणका कार्यक्रम सकरात्मक बन्न सक्ने छलफलले निश्कर्ष समेत निकालेको छ ।

इलाका प्रहरी कार्यालय काँकरभिट्टाको सभाहलमा आयोजित कार्यक्रममा विभिन्न विद्यालयका प्रतिनिधिहरु, शिक्षिका सुभद्रा भट्टराई, लागुऔषध नियन्त्रणकै सन्दर्भमा क्रियाशिल विभिन्न संघसंस्थाका प्रतिनिधिहरु अर्जुन राई, मेची सामुदायिक सेवा केन्द्रका महासचिव खडानन्द भण्डारी, भिम लुइँटेल, सन्दीप थापा, माइती नेपालका पूर्वाञ्चल संयोजक गोबिन्द घिमिरेसँगै स्थानीय गणेश खरेल, फडिन्द्र घिमिरे, गोबिन्द गिरी, शिक्षक सुर्वण भट्टराई, नाइट चेस क्लबका अध्यक्ष राजु कार्कीलगायतले लागुऔषध नियन्त्रणका लागि विभिन्न सुझाव दिएका थिए ।

मेची सामुदायिक सेवा केन्द्रका अध्यक्ष मुक्ति पौडेल र इलाका प्रहरी कार्यालयका प्रमुख दिपक भारतीले छलफलमा उठेका सुझावहरुको समिक्षा गर्दै लागुऔषध नियन्त्रणका सन्दर्भमा प्रभावकारी ढंगले अगाडी बढ्ने बताएका थिए । कार्यक्रमको सञ्चालन इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक होम अधिकारीले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु