‘होराइजन स्काउट दल’ले टायर सिट बनाएर राख्यो बस बिसौनीमा

2023-06-21 मा प्रकाशित

धुलाबारी, ६ असार । मेचीनगर−१० स्थित इष्ट होराइजन अंग्रेजी माविको ‘इष्ट होराइजन स्काउट दल’ ले ७२ औं स्काउट स्थापना दिवसमा रचनात्मक कार्य गरेको छ । ‘इष्ट होराइजन स्काउट दल’ ले खेर गएका सामानाहरु पुनः प्रयोग गरी निर्माण गरिएका टायर सिट धुलाबारी पूर्व बस बिसौनीमा यात्रुहरुको सुविधाको लागि राखिएको स्काउट मास्टर संगीता थापाले बताइन् । इष्ट होराइजन स्काउट दल’ का विद्यार्थीले ६ दिन लगाएर उक्त टायर सिट बनाएका हुन् । खेर गएका सामानलाई पुनः प्रयोगमा ल्याउन सकिन्छ भन्ने सन्देश दिन टायर सिट निर्माण गरिएको हो ।

हाम्रो समाजमा खेर गएका सामानहरुले वातावरण दुषित बन्दै गएको छ । यस्ता सामाग्रीको पुनः प्रयोग गर्दा सदुपयोग सँगै वातावरण पनि स्वच्छ हुने कुरा इष्ट होराइजन स्काउट दलले गरेर देखाएको अर्का स्काउट मास्टर विकास दाहालले बताए । स्काउट दलले ३ वटा टायर सिट बनाएर बस बिसौनीमा राखेको छ । उक्त सिटमा ५ जनासम्म बस्न सक्ने बताइएको छ । धुलाबारी बस बिसौनीमा यात्रुहरुका लागि प्रतिक्षालय बनेको छैन । जसका कारण यात्रुहरु समस्यामा पर्दै आएका छन् । तर, त्यहाँ टायर सिट बनाएर राखेपछि यात्रुहरुलाई केही हदसम्म राहत पुगेको छ ।

अध्ययनसँगै सामाजिक गतिविधिमा सक्रिय इष्ट होराइजनले विद्यार्थीलाई व्यावहारिक शिक्षा प्रदान गर्दै आएको छ । विद्यार्थीलाई पढाइसँगै समाजप्रतिको दायित्व बोध गराउन प्रेरित गरिएको प्रिन्सिपल सन्जिव राईले बताए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु