प्रेस चौतारीको साधारण सभामा सम्मान

2023-06-22 मा प्रकाशित

मेचीनगर । प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले नेपाल पत्रकार महासंघले सुरु गरेको सदस्यता शुद्धिकरण अनिवार्य भएपनि प्रेस चौतारीलाई बायस गरेर अघि नबढ्न चेतावनी दिएका छन् । शुद्धिकरणको नाममा प्रेस चौतारीका सदस्यमाथि अपमानित गर्ने र विभेद गरी जिस्काउने दुस्प्रयास नगर्न पनि अध्यक्ष बस्नेतको चेतावनी छ ।

‘‘महासंघले संगठनहरु कै सुझावमा तय गरेको सदस्यता शुद्विकरण मापदण्डका १५ बुँदा अक्षरशः पालना गर्नुपर्छ, हामी त्यसको पक्षमा नै छौं’ अध्यक्ष बस्नेतले भने– ‘तर त्यसलाई बिर्सेर झापा महासंघले आफूखुसी सदस्यहरुको वर्गीकरण गरेको पाउँदा दुर्घटना निम्तिन सक्ने खतरा देखेको छु । त्यसको जिम्मा महासंघ झापा शाखा कै हुनेछ ।’

बुधबार काँकरभिट्टामा आयोजित प्रेस चौतरी झापाको साधारण सभालाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै अध्यक्ष बस्नेतले त्यस्तो बताएका हुन् । उनले भनेका छन्, देशभर जहाँ पत्रकार महासंघको नेतृत्वमा प्रेस चौतारी छैन, त्यहाँ क्रियाशील पत्रकारहरुलाई निस्क्रियको सूचीमा राखेर अपमानित गरिएको छ । यदि यो हर्कत सुधारिएन भने प्रेस चौतारी पनि हातमा दही जमाएर बस्दैन । पत्रकार महासंघ बनाउन अन्य संगठनहरुभन्दा प्रेस चौतारीको योगदान कम छैन भन्ने हेक्का राख्न महासंघ नेतृत्वलाई उनले चेतवानी दिए ।

प्रेस चौतारी झापाका अध्यक्ष मनकुमार गदालको अध्यक्षतामा सचिव प्रकाश पौडेलले सञ्चालन गरेको सो साधारणसभामा आमन्त्रित अतिथि एवम् सहभागीहरुलाई उपाध्यक्ष प्रदीप परियारले शाब्दिक स्वागत गरेका थिए ।

साधारणसभा सामारेहमा प्रेस चौतारी झापाले स्थापना गरेको राइजिङ स्टार युवा पत्रकारिता प्रोत्साहन पुरस्कारबाट झापामा क्रियाशील तीनजना पत्रकारहरु सम्मानित तथा पुरस्कृत भएका छन् । उक्त समारोहमा हिमशिखर टेलिभिजनका पत्रकार सुदिप अधिकारी, रेडियो भिजनका पत्रकार अस्मिता साँखी र खबरखेती डटकमका सम्पादक तिलक योञ्जन सम्मानित र पुरस्कृत भएका हुन् । उनीहरुलाई जनही पाँच हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरी दोसल्ला ओढाइएको थियो ।

पुरस्कृतहरुको तर्फबाट आभार मन्तब्य राख्दै पत्रकार योञ्जनले आफूहरुलाई काम गर्ने थप हौसला मिलेको बताए । हाम्रो संगठनले यसरी सधैं सदस्यहरुको सुख र दुःखमा साथ दिँदै समय समयमा हौसला बढाएकै कारण प्रेस चौतारी बलियो बन्ने योञ्जनले विश्वास ब्यक्त गरे ।

सो कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय सचिव एवम् कोशी प्रदेश इन्चार्ज विक्रम लुईटेलले आफ्नो संगठनलाई सक्रिय बनाउन सदस्यहरुले पूरा गर्नुपर्ने दायित्व सुझाएका थिए । उनले नेपाल पत्रकार महासंघको सदस्यता शुद्विकरण अभियानको समस्या र समाधानका विषयमा भइरहेको छलफलका बारेमा प्रकाश पारेका थिए ।

कार्यक्रममा प्रेस चौतारीका कोशी प्रदेश अध्यक्ष अविजाल विष्टले सदस्यता शुद्विकरण अभियानलाई महासंघकाले पक्षपात ढंगले अघि बढेको कारण समस्या भएको बताए । कसैलाई पाखा र कसैलाई काखमा च्यापेर नहिड्न उनले महासंघ प्रदेश समितिलाई आग्रह पनि गरे ।

साधारणसभामा प्रेस चौतारी झापा शाखाको कार्यसमितिलाई पुनःगठन गरी सानो आकारको बनाउने, सम्मानको सूची साँघुरो बनाएर पुरस्कारको राशीमा वृद्धि गर्ने, पत्रकार उपचार सहयोग कोषलाई थप समृद्ध बनाउने, पत्रकारहरुको हक अधिकार रक्षाका लागि अन्य संगठनहरुसँग सहकार्य गरी कार्यक्रमहरु सञ्चालन गर्नेजस्ता विषयमा छलफल गरिएको थियो ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु