कलाकार उत्तम प्रधानको ‘दर्पण छायाँपछि फेरि’ आउँदै

2023-06-23 मा प्रकाशित

मेचीनगर, असार ८ । ‘दर्पण छाँया’ । नेपाली चलचित्र क्षेत्रका हरेक दर्शकको मन मष्तिस्कमा छाएको एउटा पुरानो चलचित्रको नाम हो यो । आधुनिक पुस्तालाई खासै ज्ञान नभएपनि चलचित्र क्षेत्रमा चासो राख्ने हरेक अग्रजहरु यस चलचित्र बारे जानकार छन् ।
जुन चलचित्रका प्रमुख नायक छन् उत्तम प्रधान । ‘दर्पण छायाँ’ चलचित्रमा आँखा नदेख्ने अन्धोको भुमिकामा रहेर आम दर्शकको मन जितेका उनै उत्तम प्रधानले अब दर्पण छायाँको सिक्वेलका रुपमा ‘दर्पण छायाँ पछि फेरि’ नामक चलचित्र ल्याउने भएका छन् ।
नेपाली दर्शकहरुले दिएको अथाह साथ, सहयोग र मायाको सिरोधार्य गर्दै चलचित्र क्षेत्रबाट ओझल परेको लामो समयपछि उनले यस चलचित्र ल्याउने भएका हुन् । आज सिमान्त सहर काँकरभिट्टामा पत्रकारहरुसगँ कुराकानी गर्दै उनले नयाँ चलचित्र ल्याउने बारे जानकारी दिए ।
‘दर्जन बढी चलचित्रमा अभिनय गर्दै गर्दा आम दर्शकहरुले अत्यन्तै सहयोग गर्नुभयो, तर मैले भने दर्शकहरुलाई केहि दिन सकिन त्यसैले लामो समय ओझेलमा परेपनि ‘दर्पण छायाँ’को सिक्वेलका रुपमा यस चलचित्र ल्याउन लागेको हुँ’ पत्रकारहरुसगँ कुराकानी गर्दै उहाँले भन्नुभयो ‘चलचित्रको नाम नौलो भएपनि पुरानै चलचित्रका चलचित्रकर्मीहरुले अभिनय गर्दै हुनुहुन्छ ।’
उनका अनुसार सिक्वेलका रुपमा आउन लागेको यस चलचित्रमा पनि पुरानै प्रमुख पात्रहरु दिलिप रायमाझी, निरुता सिंह लगायतको अभिनय रहनेछ । दर्जन बढी नेपाली चलचित्रमा उत्कृष्ट अभिनय गर्दै विभिन्न अवार्ड समेत जितिसकेका प्रधान भारतको सिक्किम निवासी हुन् ।
सिक्किममा समेत चलचित्रको क्षेत्रमा नायकत्व छवि बनाएका उनी लामो समय सिक्किम सरकार अन्तर्गतको चलचित्र विकास बोर्डको अधयक्ष बनेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु