मेचीनगरको बजेट १ अर्ब ५१ करोड बढी

2023-06-25 मा प्रकाशित

मेचीनगर, असार १० । झापाको मेचीनगर नगरपालिकाले एक अर्ब ५१ करोड बढी रकमको बजेट ल्याएको छ । आज दोस्रो नगरसभाको तेस्रो अधिवेशन मार्फत नगरपालिकाकी उपप्रमुख मिना पोख्रेल उप्रेतीले आगामी आर्थिक बर्ष २०८१ ८१ का लागि एक अर्ब ५१ करोड १२ लाख ४० हजार ३ सय ६७ रुपैँयाको बजेट प्रस्तुत गरेकी हुन् । जसमा नगरले चालु खर्चतर्फ ५६ दशमलव २९ प्रतिशत अर्थात ८५ करोड ७ लाख ७ हजार बजेट विनियोजन गरेको छ भने पुँजीगत खर्चतर्फ ४३ दशमलव ५४ प्रतिशत अर्थात ६५ करोड ८० लाख ३३ हजार ३ सय ६७ रुपैँया बजेट विनियोजन गरेको छ । यसैगरी वित्तीय व्यवस्था तर्फ शुन्य दशमलव १७ प्रतिशत अर्थात २५ लाख रुपैँया बजेट विनियोजन भएको छ ।

नगरसभामा बजेट प्रस्तुत गर्दै उपप्रमुख उप्रेतीले बजेट आयको स्रोत समेत सार्वजनिक गरेकी छिन् । जसमा राजश्व मार्फत ४० करोड ४३ लाख ५४ हजार ५ सय ५५ आय अनुमान गरिएको छ भने आन्तरीक स्रोत मार्फत १२ करोड ८७ लाख आयको अनुमान गरिएको छ । यसैगरी प्रदेश सरकार मार्फत ३ करोड ९१ लख ६ हजार आय अनुमान गरिएको छ । नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेको नगरसभामा कृषि, स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर उपप्रमुखले बजेट ल्याएकी हुन् ।

आज नगरसभामा प्रस्तुत बजेट माथी छलफलका लागि १३ र १५ गते वैठक बोलाइएको नगरपालिकाले जानकारी दिएको छ । जुन वैठकमा सभासदहरुले नगरसभामा प्रस्तुत बजेटमाथी छलफल गर्नेछन् ।

नगरपालिकाका प्रमुख बुढाथोकीको अध्यक्षतामा आज बसेको नगरसभाको वैठकमा झापा १ का सांसद समेत रहेका नेपाली कांग्रेसका महामन्त्री बिश्वप्रकाश शर्माको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै सांसद शर्माले नगरपालिकाले प्रस्तुत गरेको नीति तथा कार्यक्रम उत्कृष्ट रहेको र यसको कार्यान्वयनका लागि आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए । जनताका अपेक्षा अत्यन्तै धेरै भएको बताउँदै उनले जे प्रस्तुत गरिन्छ त्यसमा गम्भिरतापूर्वक लाग्न र प्रस्तुत नीति तथा कार्यक्रम सफल बनाउन सुझाव दिए ।

कार्यक्रममा प्रमुख अतिथी सांसद शर्मासँगै कोशी प्रदेश सभा सदस्य द्वय गोपाल तामाङ, सविना बजगाँइ, जिल्ला समन्वय समिति सदस्य तुलसा काफ्ले बराल, नेपाली कांग्रेस मेचीनगर सभापति सुदय पनेरु, नेकपा एमाले नगर इन्चार्ज चन्द्र प्रशाई, नेकपा माओवादी केन्द्र नगर अध्यक्ष राजन चिमरिया, राष्ट्रिय प्रजातन्त्र पार्टी नगर सचिव विशालकृष्ण बाँस्तोला, राष्ट्रिय स्वतन्त्र पार्टी नगर अध्यक्ष कमल गौतम, नेकपा एकीकृत समाजवादी नगर अध्यक्ष हरि तिम्सिना लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन मेचीनगर २ का वडाध्यक्ष दिपक बरालले गरेका थिए ।

 

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु