छुपुमा छुपु हिलोमा धान रोपेर छाडौंला…

2023-06-30 मा प्रकाशित

मेचीनगर, १५ असार । धान दिवसको अवसरमा मेचीनगरका बिभिन्न विद्यालयका विद्यार्थीहरुले दही चिउरा खाएर धान रोपेका छन् । मेचीनगर १० धुलाबारी स्थित इष्ट होराइजन माविका विद्यार्थी र मेचीनगर २ स्थित बौद्धमोड इड्लिस बोर्डिड स्कूलका विद्यार्थीले उत्साहका साथ धान रोपेका छन् । बौद्धमोड इड्लिस बोर्डिड स्कुलका विद्यार्थीहरु मेचीनगर ७ स्थित मानव आश्रम पुगेका थिए भने इष्ट होराइजन माविका विद्यार्थीहरुले मेचीनगरको विभिन्न स्थानमा गएर धान रोपेर राष्ट्रिय धान दिवस मनाएका छन् । राष्ट्रिय धान दिवस असार १५ को अवसरमा आज मेचीनगरको गोजा बस्ती, लालपानी, खुट्टीडाँगी लगायत विभिन्न स्थानमा विद्यार्थी, शिक्षक र अभिभावकसहित विद्यार्थीहरुले धान दिवस मनाएका हुन् ।
प्रत्येक वर्ष इष्ट होराइजनका विद्यार्थीले राष्ट्रिय धान दिवसको अवसरमा धान रोप्न जाने गरेका छन् । आफू बच्चा हुँदादेखि नै विद्यालयबाट धान रोप्न जाने गरेको र आफूले धान मजाले रोप्न सिकिसकेको कक्षा–१०मा अध्ययनरत् छात्रा गरिमा बस्नेतले बताइन् । विद्यार्थीलाई असार १५ को महत्व दर्शाउन खेतमै पुगेर धान रोप्न लगाइएको विद्यालय प्रमुख प्रशासक सावित्रा राईले बताइन् ।
‘अबको शिक्षा व्यावहारिक, सीपमुलक तथा आयआर्जनमुलक हुनुपर्दछ,’ प्रमुख प्रशासक राईले भनिन्, ‘यस प्रकारको शिक्षण सिकाई क्रियाकलाप हुने वातावरण विद्यालय, शिक्षक र अभिभावकले सिर्जना गर्नुपर्दछ ।’ विद्यालयले बालबालिकाहरुलाई करिव ८ वर्ष अघिदेखि नै राष्ट्रिय धान दिवस मनाउन प्रोत्साहन गर्ने गरेको शिक्षक विकास ग्वालले बताए ।
मन्टेश्वरीका विद्यार्थीलाई विद्यालय परिसरमा नै खेतको गरा बनाई रोप्ने गरिएको र कक्षा १ देखि कक्षा १२ सम्मलाई आफ्नै किसान अभिभावकसँग समन्वय गरेर मेचीनगरको विभिन्न स्थानमा लगेर असार १५ मनाउने गरिएको विद्यालयका प्रिन्सिपल सन्जिव राईले जानकारी दिए ।

 

 

 

 

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु