प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

2023-07-12 मा प्रकाशित

झापा, २७ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उनको आज बिहान नर्भिक अस्पतालमा निधन भएको हो ।

प्रधानमन्त्री प्रचण्डका निजी चिकित्सक प्रा.डा.युवराज शर्माले आज बिहान ८ः३३ बजे सीता दाहालको निधन भएको जानकारी दिए ।

पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोग प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी बाट पीडित सीता दाहाल लामो समयदेखि ओछ्यान परेकी थिइन् । अहिले भने उनलाई हृदयघात भएको थियो ।

स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई आज बिहान ८ बजे अस्पताल लगिएको थियो । आकस्मिक कक्षमा सीपीआर लगायतका विधिबाट उपचार गरिएको थियो । तर सुधार नभएपछि ८ बजेर ३३ मिनेटमा मृत घोषणा गरिएको अस्पतालले पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।

पत्नीसँगै प्रधानमन्त्री प्रचण्ड पनि नर्भिक अस्पताल पुगेका थिए । अन्य विशिष्ट व्यक्तित्वहरु र पार्टी कार्यकर्ताहरु पनि अस्पताल परिसर पुगेका छन् ।

वि.सं. २०११ असार २१ गते कास्कीको हेम्जामा आमा हरिकला पौडेल र बुवा महेश्वर पौडेलको कोखबाट जन्मिएकी सीताको २०२६ सालमा प्रचण्डसँग बिहे भएको थियो ।

माओवादी केन्द्रका महासचिव देव गुरुङका अनुसार सीता वि.सं. २०२८ देखि नै कम्युनिष्ट आन्दोलनमा आबद्ध थिइन् । उनी जिल्ला, क्षेत्र र केन्द्रका विभिन्न जिम्मेवारीमा रहँदै हाल नेकपा माओवादी केन्द्रको केन्द्रीय .ल्लाहकार थिइन् ।

पार्टी कामको सिलसिलामा पञ्चायतकालमा लामो समय भूमिगत जीवन बिताएकी सीता जनयुद्ध सुरु भएपछि प्रचण्डसँगै २०५२ सालदेखि भूमिगत भएकी थिइन् । पार्टीभित्रका संकट र विवाद समाधानमा उनले समन्वयकारी भूमिका निर्वाह समेत गरेकी थिइन् ।

प्रधानमन्त्री पत्नी सीता दाहालको निधनमा सभामुख देवराज घिमिरे लगायतका नेताहरुले शोक व्यक्त गरेका छन् भने पूर्व प्रधानमन्त्रीहरु शेरबहादुर देउवा र माधवकुमार नेपाल प्रचण्डलाई समवेदना व्यक्त गर्न नर्भिक अस्पताल पुगेका छन् ।

प्रधानमन्त्री प्रचण्डकी पत्नी सीता दाहालको पशुपति आर्यघाटमा आजै अन्त्येष्टि गरिने भएको छ । त्यसअघि उनको पार्थिव शरीर पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा श्रद्धाञ्जलीका लागि राखिने छ ।

बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म पार्टी केन्द्रीय कार्यालयमा पेरिसडाँडामा श्रद्धाञ्जलिका लागि राखिने र २ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने माओवादी केन्द्रका केन्द्रीय सदस्य रामप्रसाद सापकोटाले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु