चार जना प्रतिभाहरुलाई सम्मान

2023-07-14 मा प्रकाशित

मेचीनगर, २९ असार । भानु साहित्यिक प्रतिष्ठान मेचीनगरले यसवर्ष २१० औँ भानु जयन्तीको अवसर पारेर मेचीनगरका चार जना प्रतिभाहरुलाई सम्मान गरेको छ ।

आज काँकरभिट्टा स्थित भानुभक्त आर्चायको शालिकमा माल्यार्पणपछि खोनपानी कार्यालयमा आयोजित समारोहमा नेपाली क्रिक्रेट टिमकी कप्तान मेचीनगर निवासी रुबिना क्षेत्री, साहित्यकार लक्ष्मी अच्युत ढुंगाना, सञ्चारकर्मी भूमिका सुब्बा फियाकलाई र कला संस्कृतिको क्षेत्रको प्रबर्धनका लागि नौमती बाजा, संगीनी नाचर खैजडी भजनमा योगदान गर्ने मेचीनगर–६ ज्येष्ठ नागरिक वडा समितिका तर्फबाट नारायण प्रसाईलाई सम्मानसहित पुरस्कृत गरिएको हो ।

कप्तान रुविना क्षेत्रीलाई खेलकुद क्षेत्रमा, पत्रकार लिम्बुलाई सञ्चार क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै भानु साहित्यिक पुरस्कारबाट सम्मान गरिएको छ । रुविनालाई २१ हजार र अन्य तीनजना प्रतिभाहरुलाई जनही ११ हजारका दरले पुरस्कार प्रदान गरिएको छ ।

कार्यक्रममा कविता गोष्ठी र रामायण बाचन प्रतियोगिता समेत भएको थियो । विजेताहरु नगदसहित सम्मान गरिएको थियो ।

कविता गोष्ठीमा पहिलो हुने आदर्श माविका छात्र आदित्य काफ्ले, दोस्रो हुने बालकल्याण माविका छात्र चिरञ्जीवी कोइराला र तेस्रो हुने अरणीको माविकी छात्रा निर्जला दाहाललाई क्रमशः ५ हजार, ३ हजार र २ हजार नगदसहित सम्मान गरिएको थियो ।

त्यस्तै रामायण बाचनमा पहिलो हुने कविहरु रुद्रप्रसाद भण्डारी, दोस्रो हुने पर्शुराम तिम्सिना र तेस्रो हुने ईन्दिरा कुसुमलाई क्रमशः ३ हजार, २ हजार र १ हजार नगदसहित सम्मान गरिएको थियो ।

प्रतियोगिताको निर्णयकको संयोजकमा जीवनाथ सुवेदी तथा सदस्यहरुमा टंक विकल्प र पुन्य बराल रहेका थिए । सो प्रतियोगिताको सभापतित्व नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य मुनाराज शेर्माले गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि साहित्यकार डिल्लीराज नेपालले भाषाको कुनै भुगोल नहुँने बताएका छन् ।

उनले जहाँ साहित्य हुन्छ त्यहाँ कविको साम्राज्य हुने बताए । भाषा, साहित्य, संस्कृति यी सबैको ज्ञान हुनु पर्छ, यी सबैको ज्ञाता भानुभक्त आर्चायको स्मरण र चर्चा कहिलै गरेर नसकिने उनले बताए । अहिलेको कला संस्कृतिले नयाँ पुस्तालाई हस्तान्तरण गरेको छ यो राम्रो पक्ष रहेको उनको भनाई थियो ।

कार्यक्रममा विशिष्ठ अतिथिहरु मेचीनगर नगरपालिकाकी उपमेयर मीना पोखरेल उप्रेती, नेकपा एमालेका केन्द्रीय सदस्य रविन कोइराला लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

भानु साहित्यिक प्रतिष्ठानका कार्यावाहक अध्यक्ष डिल्लीराम घिमिरेको अध्यक्षता र कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए । कार्यक्रमको स्वागत वरिष्ठ उपाध्यक्ष मेदनीप्रसाद खरेलले र धन्यवादसहित ज्ञापन उपाध्यक्ष मोहनप्रकाश उप्रेतीले गरेका थिए ।

कार्यक्रमको सञ्चालन महासचिव शुशिल आर्चाय, कोषाध्यक्ष शुभद्रा भट्टराई र सदस्य जय आर्चायले संयुक्त रुपमा गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु