आद्य महालक्ष्मीको रथयात्रा नेपालमा

2023-09-01 मा प्रकाशित

झापा, १५ भदौ । अग्रवाल समुदायको कुलदेवी आद्य महालक्ष्मीको रथयात्रा भारतको अग्रोहा धामबाट आज नेपाल आइपुगेको छ ।

पाँच हजार वर्ष पुरानो अग्रसेन राज्यको राजधानी मानिएको भारतको हरियाणास्थित अग्रोहा धामबाट रथयात्रा सुरु भएको हो ।

भारत र भूटान हुँदै उक्त रथयात्रा आज विहान नेपाल प्रवेश गरेको रथयात्राका मेचीनगर संयोजक विजय डालमियाले बताउनुभयो ।

महालक्ष्मीको प्रतिमासहित आएको रथयात्रालाई प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानामगरले काँकरभिट्टामा स्वागत गर्नु भयो । सो अवसरमा प्रदेश सांसद् गोपाल तामाङ, मेचीनगरकी उपप्रमुख मीना उप्रेती लगायतको उपस्थिति रहेको थियो ।

अग्रवाल समाज मेचीनगरले रथयात्रा आइपुगेको खुशीयालीमा उल्लास मनाएको छ । काँकरभिट्टामा रथयात्राको स्वागतार्थ कार्यक्रमको आयोजना गरियो भने महाआरती एवम् पूजा समेत उदघाटन गरिएको छ ।

उक्त समारोहलाई सम्बोधन गर्दै उपसभामुख रानामगरले प्रत्येक महिला महालक्ष्मीका स्वरुप भएको र मानवीय सेवाका लागि पैसा होइन भावना चाहिने बताउनु भयो ।

कार्यक्रममा प्रदेश सांसद गोपाल तामाङ, संविधानसभा सदस्य रविन कोइराला, मेचीनगर उपप्रमुख मिना उप्रेती, पत्रकार चन्द्र भण्डारी, सुरेशकुमार बंशल लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा अखिल भारतीय अग्रवाल समाजका बरिष्ठ उपाध्यक्ष सुरेश अग्रवालले उपसभामुख रानामगरलाई विशेष सम्मान गर्नु भएको थियो । कार्यक्रमको सभापति मेचीनगर संयोजक विजय डालमिया हुनुहुन्थ्यो ।

कार्यक्रममा मारवाडी समुदायले विभिन्न नृत्य प्रस्तुत गरेका थिए ।

रथयात्रा आज बिर्तामोड रात्री विश्राम गर्ने र भोलि धरान पुग्ने कार्यक्रम रहेको मेची संयोजक वेदप्रकाश अग्रवालले जानकारी दिनु भयो ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु