धुलाबारी क्याम्पसले पायो देशमै पहिलोपटक इन्जिनियरिङ काउन्सिलबाट सम्बन्धन

2023-09-04 मा प्रकाशित

मेचीनगर, १८ भदौ । धुलाबारी क्याम्पसले इन्जिनियरिङ विषयको स्नातक तह पढाउने सम्बन्धन पाएको छ । सामुदायिक क्याम्पस मध्ये धुलाबारी क्याम्पसले नेपालमै पहिलोपल्ट इन्जिनियरिङ काउन्सिलबाट पठनपाठनको सम्बन्धन पाएको हो ।
धुलाबारी क्याम्पसले यही भदौ १५ गते नेपाल इन्जिनियरिङ काउन्सिबाट इन्जिनियरिङ संकायको पठनपाठन गराउन पाउने लिखित अनुमति (सम्बन्धन पत्र ) पाएको क्याम्पसले आज पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।

पत्रकार सम्मेलनमा क्याम्पस प्रमुख पुष्प पौडेलले देशभरमा ५६३ वटा सामुदायिक क्याम्पस रहेकोमध्ये धुलाबारी क्याम्पसले मात्र इन्जिनियरिङ विषयको स्नातक तह पढाउने अनुमति पाएको बताए ।
‘समस्त मेचीनगरबासीका लागि यो साह्रै ठूलो खुशीको खबर हो,’ उनले पत्रकार सम्मेलनमा भने –‘निरन्तरको प्रयासपछि धुलाबारी क्याम्पसलाई नेपाल इन्जिनियरिङ काउन्सिल र पूर्वाञ्चल विश्वविद्यालय दुबैले सिभिल इन्जिनियरिङ संकायका चार वर्षे स्नातक तहको पठनपाठन गर्न सम्बन्धन दिएका छन् ।’

यही असोज ६ असोजभित्र भर्नाका आवेदन लिइने र यसै शैक्षिक सत्रदेखि सिभिल इन्जिनियरिङको स्नातक कक्षा (बीई)को पठनपाठन सुरु गरिने कार्यक्रम निर्देशक ई. रुद्र मैनालीले जानकारी दिए । बीई कक्षाका लागि ४८ सिट रहेको र जसमध्ये चार सिटमा क्याम्पसले छात्रवृत्ति प्रदान गर्नु पर्ने उनको भनाई थियो ।पत्रकार सम्ममेलनमा क्याम्पस सञ्चालक समितिका अध्यक्ष भीम खवासले ठूलो संघर्ष पछि धुलाबारी क्याम्पसमा सिभिल इन्जिनियरिङ पढाउने अनुमति ल्याउन सफल भएको बताए । उनले धुलाबारी क्याम्पसको विगतलाई समेत स्मरण गराए ।

मेचीनगर– १० रघुबीरबाडीमा रहेको धुलाबारी क्याम्पस ७ बिगाहा क्षेत्रफलमा फैलिएको छ । सहरी भीडभाडभन्दा टाढा, शान्त र सुरक्षित वातावरण भएकाले धुलाबारी क्याम्पसको शैक्षिक वातावरणलाई कोशी प्रदेशकै उत्कृष्ट वातावरण भएको क्याम्पस मानिन्छ ।

 

 

 

 

 

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु