जनप्रतिनिधिनै उत्रिए मेचीनगरका कर्मचारी विरुद्ध, दिए ४८ घण्टाको अल्टिमेटम

2023-09-04 मा प्रकाशित

मेचीनगर, १८ भदौ । मेचीनगर नगरपालिकामा कर्मचारीहरुको आन्तरिक द्वन्दको कारण नगरपालिका बन्धक बनेको तथा जनताले सास्ति पाएको भन्दै जनपत्रतिनिधिहरु सोमबार कर्मचारी विरुद् कडा रुपमा प्रस्तुत भए । मेचीनगर वडा नं ४ का वडा अध्यक्ष अर्जुन कार्की, वडा नं १० का वडा अध्यक्ष नारायण खनाल र वडा नं १३ का वडा अध्यक्ष कृष्ण सिग्देलले आज नगरपालिकाको मुख्य प्रवेशद्वारमा पत्रकार सम्मेलन आयोजना गरेर कर्मचारीहरूबीचको झगडाले लामो समयदेखि आम जनताले दुःख पाएकाले अब सहन नसकिने बताएका छन । वडा अध्यक्षहरूले ८ बुँदे विभिन्न प्रश्नहरू उठाएका छन । त्यसको उत्तर ४८ घण्टामा कर्मचारीहरूले दिनु पर्ने अन्यथा कर्मचारीलाई मोसो दलेर जनकार्वाही गर्ने चेतावनी समेत दिए ।

नगरपालिकामा कर्मचारीका कारण जनप्रतिनिधि नै असफल हुने अवस्था भएको बताउँदै कार्कीले भने, हामी असफल हुन आएका होइनौं, जनताको हरेक समस्यामा हामी हातेमालो गर्न प्रतिवद्ध छौं । तर कर्मचारीका कारण हामी आजित भइसक्यौ. ।

नगरपालिका कार्यालयको माथिल्लो तहका केही कर्मचारीका कारण अत्यन्तै दुःख पाएको वडा नं १० का वडाअध्यक्ष नारायण खनालले बताए । नगरपालिका कार्यालय आउनै मन लाग्दैन, खनालले भने, अब हामी सहेर बस्दैनौ ।

नगरपालिकामा जनप्रतिनिधिले निर्णय गरेको कुरा पनि लागू नहुने गरेको वडा नं १३ का वडाअध्यक्ष कृष्ण सिग्देलले बताए ।

नगरपालिका अत्यन्तै अपारदर्शी भयो, उनले भने, यो जनताको कार्यालय हो यहा सबैकुरा पारदर्शी हुनु पर्छ ।

पत्रकार सम्मेलनमा मेचीनगर ४ को हात्ति मैत्री किसान समुहका सदस्य देवी प्रसाद आचार्यले सब्जी खेतिको पैसा ५ महिना बितिसक्दा पनि नपाएको दुखेसो पोखे । मेचीनगर ४ कै निता थापाले नगरपालिकामा दशौं पटक आउदा समेत काम नभएको बताइन् । नगरपालिकाले सारै दुःख दियो उनले भनिन् हामी महिला हौं नगरपालिका आउँन मुस्किलले समय निकाल्नु पर्छ । धाउँदा धाउँदा थाकि सक्यौं अझै काम भएको छैन ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु