मेचीनगर । मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १७ औं रास्ट्रिय दिवसको अवसरमा काँकरभिट्टामा विविध कार्यक्रम सम्पन्न भएको छ । कारितास नेपालको आयोजना तथा जिल्ला प्रशासन कार्यालय झापा र मेची सामुदायिक सेवा केन्द्रको सहकार्यमा आयोजित कार्यक्रममा मानव बेचबिखन बिरुद्धको अभियान सञ्चालन गर्ने बिभिन्न संघ संस्थालाई सम्मान गरिएको छ । सो अवसरमा परिवर्तन थ्रिएटरले कचहरी नाटक प्रदर्शन गरेको थियोे । कार्यक्रममा अधिकांश वक्ताहरुले गरीबी, बेरोजगारी र अशिक्षाका कारण प्रलोभनमा परी नेपालमा मानव बेचबिखन घटना बढ्दै गएको बताएका छन् । कोभिडपछि नेपालमा देखा परेको आर्थिक मन्दीका कारण रोजगारीको अवसर खोज्दै बैदेशिक रोजगारीका क्रममा पुगेकामध्ये ८० प्रतिशत महिला बेचबिखनको सिकार बनेको कार्यक्रममा सरोकारवाला निकायले आफ्नो परिपत्रमा उल्लेख गरेका छन् ।
महिला तथा बालबालिकालाई प्रयोग गर्न नक्कली भिषा, आधारकार्ड बनाएर भारतका विभिन्न ठाउँमा केन्द्र बनाएको र अन्य मुलुकमा बेचबिखन गर्दै आएको पाइएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपानेको सभापतित्व तथा कोशी प्रदेश सभा सदस्य सविना बजगाईँको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि बजगाईँले मानव बेचविखन जस्तो जघन्य अपराधलाई रोक्न समाजका हरेक व्यक्ति सचेत हुनु पर्ने बताइन् । उनले मानव बेचबिखन तथा ओसारपसार विरुद्धको अभियानमा भूमिका निर्वाह गर्दै आएका संघ संस्थाहरुलाई धन्यवाद समेत दिइन् । प्रमुख अतिथि बजगाईले मानव बेचबिखन विरुद्धको अभियानमा आफ्नो तर्फबाट जस्तोसुकै सहयोग गर्न आफू तयार रहेको विश्वास दिलाइन् ।
सो अवसरमा कारितास नेपालका हिमाल अधिकारीले गरीबी, बेरोजगारी र अशिक्षासँगै पछिल्लो समयमा सोसियल मिडियामा देखिएका झुटा सामाग्रीको प्रलोभन, खुला सिमाना, सांस्कृतिक कार्यक्रम, शैक्षिक परामर्श, नेटवर्क बिजनेशका कारण महिलाहरु बेचबिखनमा पर्ने गरेको बताए ।
कार्यक्रममा माइती नेपालका गोबिन्द घिमिरेले पछिल्लो समयमा संगठित रुपमा अपराध गर्ने क्रम बढेकाले त्यसको नियन्त्रण गर्ने विधि र प्रक्रिया फितलो र कमजोर भएको परिपत्र प्रस्तुत गरेका थिए ।
७७ वटै जिल्लामा २ सय ४३ वटा प्रहरी सेवा कार्यालयबाट बेचिएका वा समस्यामा परेका पीडितलाई उद्दार गरेको इलाका प्रहरी कार्यालन काकरभिट्टाका दिपक भारतीले जानकारी दिए ।
२०७७ र ७८ आबमा २सय ४४, जना २०७८ र ७९ आबमा ४ सय १०, २०७९ र ८० आबमा ५ सय ५१ जना, २०८० र ८१ आबमा १३१ जनालाई उद्दार गरेको प्रहरीले आफ्नो प्रतिपत्रमा उल्लेख गरेको छ ।
त्यसको रोकथामका लागि मानव बेचबिखनसंग सम्बन्धित विभिन्न सामाजिक संघसस्था र इन्टरपोलसंग समन्वय गरेर नेपाल प्रहरीले रोकथामको प्रयास गरेको छ । महिलालाई विभिन्न प्रलोभन देखाएर एजेन्टले यौनजनन्य क्रियाकलापमा प्रयोग गर्दै आएका छ्न् भने बालबालिकार पुरुषलाई अंग प्रत्यारोपणका लागि बेचबिखन गर्दै आएको जनाइएको छ ।
सो अवसरमा माइती नेपाल, एबिसि नेपाल, शक्ति समुह नेपाल आफन्त नेपाल, साना हातहरु नेपाल, कारितास नेपाल, मानव अधिकारका लागि एकल महिलालगायतलाई सम्मान पत्रद्वारा सम्मान गरिएको थियोे । कार्यक्रममा मेची उधोग बाणिज्य संघ की उपाध्यक्ष निर्मला भण्डारी र उमा शिवाकोटीले लगायतले बोलेका थिए ।
कार्यक्रमको सञ्चालन सामुदायिक सेवाकेन्द्रका अध्यक्ष मुक्ति पौडेलले गरेका थिए ।
प्रतिकृया दिनुहोस्