अखिल नेपाल महिला संघ मेचीनगरको तीज मिलन कार्यक्रममा जेष्ठमाताहरु सम्मानीत

2023-09-11 मा प्रकाशित

मेचीनगर, २५ भदौ । नेकपा एमालेको भातृ संगठन अखिल नेपाल महिला संघ मेचीनगरले तीजको अवसरमा १२० वर्षीया वृद्वा पोहानी राजबंशीसहित दुई जनालाई सम्मान गरेको छ ।

आज काँकरभिट्टा खानेपानी कार्यालयको सभाहलमा संघले आयोजना गरेको समावेशी तीज विशेष कार्यक्रममा मेचीनगर नगरपालिका–७ की ज्येष्ठ नागरिक १२० वर्षीया पोहानी राजबंशीलाई सम्मान गरेको हो ।

पत्रकार अम्बिका भण्डारीले ज्येष्ठ नागरिक राजबंशीलाई खानेपानी गेटदेखि कार्यक्रमस्थलसम्म बोकेरै लगिन भने फर्किदा संघकी अध्यक्ष जानुका ओलीले बोकेरै गेटसम्म पुर्याएकी थिइन् ।

त्यसैगरी संघले मेचीनगर–६ की १०३ वर्षीया जुजुधरा पोखरेललाई सम्मान गरेको छ ।

कार्यक्रममा अखिल नेपाल महिला संघकी केन्द्रीय सदस्य मीना पोखरेल उप्रेतीले २ जना सम्मानित व्यक्ति प्रेरणाको श्रोत भएको बताइन् । उनले महिलाले महिलाको खुट्टा तान्ने प्रवृति अन्त्य गर्नुपर्ने बताइन् ।

‘२०७९ को स्थानीय चुनावमा मेचीनगरका महिलाहरु मेयर र वडाध्यक्ष केहि हुन पाएनन्’, कार्यवाहक मेयर उप्रेतीले भनिन्–‘अबको ०८४को चुनावमा ति पदहरुमा उठेर जित्न एकताबद्व भएर लाग्नु पर्छ ।’

कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सल्लाहकार परिषद् सदस्य विष्णु प्रसाईले ज्येष्ठ नागरिकहरुलाई सम्मान गरेकामा अनेम संघलाई धन्यवाद व्यक्त गरे ।

कार्यक्रममा महिलाहरुले तीजका गीतमा छमछमी नाचेर सामूहिक दर समेत खाएका थिए । कार्यक्रममा मेचीनगर–६ को डान्डिया ग्रुपले डडिया नाच प्रदर्शन गरेको थियो ।

कार्यक्रममा नेकपा एमालेका जिल्ला कमिटिका सल्लाहकार हरिचरण बानियाँ, धुलाबारी क्याम्पसका अध्यक्ष तथा नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषद् सदस्य भीम खवास, जिल्ला कमिटी सदस्य देवकुमार राई, नगर अध्यक्ष राजु पोखरेल, काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ समितिका अध्यक्ष राजकुमार पराजुली, महिला नेतृहरु रेणुका डाँगी, संगीता थापा, शोभा खवास, रमा भण्डारी, निरु परियार लगायतको उपस्थिति रहेको थियो ।

अखिल नेपाल महिला संघ मेचीनगरकी अध्यक्ष जानुका ओलीको अध्यक्षतामाा भएको कार्यक्रमको स्वागत उपाध्यक्ष हेमा शिवाकोटीले र सञ्चालन सचिव अनिता गुरागाईले गरेकी थिइन् ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु