डाक्टरलाई कोरोना संक्रमण देखिएपछि आम्दा मेची अस्पतालआजबाट सिल गरियो

2020-08-12 मा प्रकाशित

मेचीनगर, २८ साउन । कार्यरत डाक्टरमा कोरोना पोजेटिभ भएपछि मेचीनगर–१० स्थित आम्दा मेची अस्पताल सिल गरिएको छ ।

अस्पतालको सवै सेवा बुधबारदेखि बन्द गरिएको नगरपालिकाले जनाएको छ ।

हाल ती चिकित्सकलाई व्यवस्थित रुपमा अस्पतालकै माथ्लो तलाको कोठामा आइसोलेसनमा राखिएको छ ।

नगरपालिकाले विगत १० दिन अघिदेखि आम्दा अस्पतालमा पुगेर उपचार गराउनेहरुको पहिचान गरी पीसीआर परीक्षणका लागि नमूना संकलन गर्ने भएको छ ।

मेचीनगरमा चिकित्सकलाई पहिलोपटक र समुदायमा दोस्रोपटक कोरोनाको संक्रमण फेला परेको हो ।

केहीदिन अघि मेचीनगर–१० धुलावारी बजारका १५ वर्षीय किशोरमा कोरोना संक्रमण पुष्टि भएसँगै समुदायस्तरमा कोरोना संक्रमण फैलिएको थियो ।

नगरपालिकाका सामाजिक विकास समिति संयोजक नवीन वरालका अनुसार मेचीनगर –७ का एक पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ ।उनी नेपाल प्रहरीमा कार्यरत सुरक्षाकर्मी हुन् ।नेपाल प्रहरीमा कार्यरत सुरक्षाकर्मी विदामा घर आएका हुन् । ५ जनाको रिपोर्ट आउन बाँकी छ ।यस अघि संक्रमित देखिएका मेचीनगर –१० का १५ वर्षीय किशोरका परिवारका २ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।बुधबार पुष्टि भएका ४ जना सहित मेचीनगरमा कोरोना संक्रमितको संख्या १ सय पुगेको छ ।

चिकित्सक सहित समुदायस्तरमा एकै पटक ४ जनामा कोरोना संक्रमण देखिए पछि आगामी रणनीति बनाउन मेचीनगर नगरपालिको नगर स्तरीय कोरोना संक्रमण नियन्त्रण कार्यदलले नगरका विभिन्न राजनीतिक दल, संघ संस्थाका प्रमुख प्रतिनिधि सुरक्षाकर्मीसँग छलफल गरेको कार्यदलका संयोजक एवम् नगरप्रमुख विमल आचार्यले जानकारी दिए ।

यसैबीच, बुधबार नगरप्रमुख आचार्य, उपप्रमुख उप्रेती, सामाजिक विकास समिति संयोजक नवीन वराल, नगरपालिकाका बरिष्ठ प्रशासकीय अधिकृत, अनन्तप्रकाश वस्ती, खाद्य अधिकृत दीपेन्द्र कार्की, कार्यपालिका सदस्य कृष्ण कनाल, वडाध्यक्ष सुदय पनेरु नगरसदस्यसहित अन्य जनप्रतिनिधिहरु, इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी उपरीक्षक राजेन्द्र पोखरेल इलाका प्रहरी कार्यालय धुलावारीका प्रहरी निरीक्षक कैलास चौधरीसहितको टोलीले आम्दा अस्पताल धाइजनस्थित आइसोलेसन, तथा बुधबार संक्रमण फेला परेकाहरुको घरमा पुगेर स्थलगत निरीक्षण गरेको थियो ।

नगरप्रमुख आचार्यका अनुसार संक्रमण फेला परेकाहरुकासँग सम्पर्कमा आएका र अन्य शंकास्पद ब्यक्तिहरुको कन्ट्रयाक्ट ट्रेसिङ गरी पीसीआर परीक्षणका थ्रोट स्वावको नमूना संकलन गरिने छ ।

मेचीनगर नगरपालिकाले आफ्नो क्षेत्रभित्र सात दिनका लागि लकडाउनको घोषणा गरेको छ । बुधबार एकैपटक समुदाय स्तरमा एक चिकित्सकसहित चारजनामा नोवल कोरोना भाइस कोभिड १९ को संक्रमण फेला परेपछि श्रावण २८ गते रातको १२ बजेदेखि २०७७ भाद्र ३ गते रातको १२ वजेसम्म संक्रामक रोग ऐन, २०२० को दफा २ अनुसार लकडाउन घोषणा गरिएको नगरप्रमुख विमल आचार्यले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु