दमक । तीन दिनअघि झापाको दमकमा छुरा प्रहार गरी हत्या गर्ने घटनाका मुख्य आरोपीसहित ११ जनालाई पक्राउ गरी झापा प्रहरीले सार्वजनिक गरेको छ ।
दमक १ स्थित रुवेल माछा फ्राईमा साथीहरुबीच ग्याङ फाइट हुँदा छुरा प्रहारबाट मृत्यु भएका इलाम चुलाचुली गाउँपालिका ३ का ३८ वर्षीय गोविन्द लिम्बूको हत्यामा संलग्न मुख्य आरोपी दमक ७ का २२ वर्षीय सनम राईसहित ११ जनालाई जिल्ला प्रहरी कार्यालय झापाले सोमबार साँझ सार्वजनिक गरेको हो ।
इलाका प्रहरी कार्यालय दमकमा सोमबार अपराह्न पत्रकार सम्मेलन गरी मुख्य आरोपी राईसहित दमक १ का २२ वर्षीय आनन्द भुजेल,दमक ७ कै १८ वर्षीय सवास आलम,दमक १ कुमाल चौकको रुवेल माछा फ्राईका सञ्चालक विशाल कुमाल, दमक १ का २५ वर्षीय नामुद थेबे,२२ वर्षीय राजकुमार भुजेल,२६ वर्षीय आकाश केरुङ,दमक ७ का २३ वर्षीय राहुल श्रेष्ठ,२८ वर्षीय सलमान लिम्बू, इलाम चुलाचुली ४ का ३१ वर्षीय सन्दीप राई, सोही पालिका ३ का ३८ वर्षीय सूर्य केरुङ,३८ वर्षीय उपेन्द्र राईलाई सार्वजनिक गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक खगेन्द्रप्रसाद रिजालले बताए ।
उनले घटनाकै दिन होटल सञ्चालक कुमालसहित ८ जना र आज मुख्य आरोपी सनम राईसहित तीन जनालाई मोरङको उर्लाबारी १ टप्पु टोलबाट नियन्त्रणमा लिइएको जानकारी दिए ।उनका अनुसार तीन दिनअघि दमक १ स्थित कुमाल चौकको रुवेल माछा फ्राईमा मदिरा सेवन गरेपछि आपसी झगडा हुँदा मुख्य आरोपी राईले लिम्बूको घाँटी तथा हातमा छुरा प्रहार गरी हत्या गरेका थिए । हत्या लगत्तै उनी फरार भएका थिए ।
उनले नै लिम्बूमाथि छुरा प्रहार गरेको अनुसन्धानका क्रममा खुलेको डीएसपी रिजालले बताए ।फरार आरोपीलाई पक्राउ गर्न कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक रुद्र खड्का,इप्रका दमकका प्रहरी निरीक्षक डम्बर विश्वकर्मा,झापा प्रहरीले संयुक्त टोली परिचालन भएको थियो । मुख्य आरोपी राईले हत्यामा संलग्न छुरा विराटनगर महानगरपालिका ९ स्थित सन्सारी मन्दिर छेउ झाडीमा फ्यालेका थिए ।
सो छुरा फेला पारी बरामद गरिएको र घटनाका बारेमा थप अनुसन्धान भइरहेको इप्रका दमकका प्रहरी नायव उपरीक्षक मनोजकुमार लामाले बताए ।
प्रतिकृया दिनुहोस्