काँकरभिट्टा। कोशी प्रदेश ट्राफिक प्रहरी प्रमुख प्रहरी उपरीक्षक सरोज पौडेलले ट्राफिक प्रहरीको प्रबिधिमैत्री व्यवस्थापन आवश्यक रहेको बताएका छन्।
निर्माणाधिन ट्राफिक प्रहरी भवनको अवलोकन गर्न आइतबार काँकरभिट्टा आईपुगेका ट्राफिक प्रहरी प्रमुख पौडेलले उपलब्ध सिमित जनशक्तिलाई प्रबिधिमैत्री बनाउदै लैजानु पर्ने बताए । उनले स्थानीयबाट माग भएको प्रहरी जनशक्ति थप गर्नेभन्दा पनि ट्राफिक प्रहरीको प्रबिधिमैत्री व्यवस्थापन र नियमन आवश्यक रहेको बताए ।
एसपी पौडेलले राज्यले प्राथमिकतामा नराखेको ट्राफिक प्रहरीलाई मेचीनगरमा स्थानीय स्तरमा मिलेको सहयोग सह्रानीय रहेको उल्लेख गरे । यसअघि मेची सामुदायिक सेवा केन्द्र मेचीनगरले एसपी पौडेलसहितको अन्तर्कृयात्मक कार्यक्रमको आयोजना गरेको थियो । सो अवसरमा स्थानीय राजनीतिक दलका प्रमुख, जनप्रतिनिधि, यातायात व्यवसायी, समाजिक अगुवा, आम नागरिक, सुरक्षा निकायका प्रमुख, संचारकर्मीहरु सहभागी थिए ।
कार्यक्रममा पूर्व मेची बस व्यवसायी संघ अध्यक्ष विष्णु श्रेष्ठले नाकालाई खण्डहर हुन नदिन आवश्यक पहल गर्न सबैमा आग्रह गरे । उनले यातायातको व्यवस्थापनमा अझ ध्यान पुर्याउन ट्राफिकलाई अनुरोध गरे ।
काँकरभिट्टा बस पार्क व्यवस्थापन समिति संयोजक डिल्लीराम घिमिरेले ट्राफिक व्यवस्थापनमा जनशक्ति अपर्याप्त रहेको बताए । घिमिरेले ट्राफिक प्रहरी संख्या थप गर्ने सम्बन्धमा प्रहरी उपरीक्षक पौडेलको ध्यानाकर्षण गराए ।
सामुदायिक सेवा केन्द्रका अध्यक्ष मुक्ति पौडेलले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै ट्राफिक प्रहरीको व्यवस्थापनमा मेचीनगरबासीले अत्यन्तै ठूलो सहयोग गरि रहेको बताए । उनले भवन निर्माणमा सहयोग गर्ने सबैप्रति आफुहरु कृतज्ञ रहेको बताए ।
सो अवसरमा नेकपा माओवादी केन्द्रका नगर इन्चार्ज माधव अर्याल, राप्रपा नगर उपाध्यक्ष होम विष्ट, प्रहरी नायब उपरीक्षक दिपक भारती, सशस्त्र प्रहरी नायब उपरीक्षक रोहित घिमिरे, वडा सदस्य भविन्द्र सुब्बा, ट्राफिक प्रहरी पोष्ट काँकरभिट्टा इन्चार्ज प्रहरी सहायक निरीक्षक लिला श्रेष्ठ, ट्राफिक भवन निर्माण आर्थिक समिति संयोजक सुबास गुरुङ, लायन्स क्लबका प्रवक्ता डम्बर खवास, डब्लुएच प्रतिनिधि कबिता ढकाल, प्रेस क्लब मेचीनगर अध्यक्ष डम्बर बराललगायत सहभागी थिए ।
कार्यक्रमको सहजीकरण सेवा केन्द्रका महासचिव खडानन्द भण्डारीले गरेका थिए ।
प्रतिकृया दिनुहोस्