मेचीनगर, ८ मंसिर। लाल भागिरथा बानियाँ प्रतिष्ठानले तीन जना प्रतिभालाई पुरस्कृत गर्ने भएको छ ।
प्रतिष्ठानले आज प्रेस क्लव मेचीनगरमा पत्रकार सम्मेलन गरी पुरस्कृत हुने प्रतिभाहरुको नाम सार्वजनिक गरेको छ ।
लाल भागिरथा उत्कृष्ट प्रतिभा पुरस्कारबाट धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षाध्यक्ष प्राडा सञ्जीव शर्मालाई पुरस्कृत गर्ने निर्णय भएको प्रतिष्ठानका अध्यक्ष हरिचरण बानियाँले बताए। पुरस्कारको नगद राशी रु. ३१ हजार र प्रमाणपत्र रहेको छ ।
यसैगरी, लाल भागिरथा उत्कृष्ट कृषि पुरस्कारबाट मेचीनगर–५ सुरेन्द्रनगर जागरण टोलका किसान बद्रीकुमार राउत सम्मानित हुने भएका छन् ।
लाल भागिरथा उत्कृष्ट गृहिणी पुरस्कारबाट विर्तामोड–४ की हिमा लुइँटेल पाठकलाई सम्मानित गरिने भएको छ । सबै पुरस्कारको नगद राशी जनही रु. ३१ हजार रहेको छ । प्रतिष्ठानले हरेक वर्ष समाजसेवा, कृषि र महिलाको क्षेत्रमा उत्कृष्ट योगदान पुर्याउने प्रतिभालाई पुरस्कार दिदै आएको छ । यसवर्ष एक जोडी ज्येष्ठ नागरिकलाई समेत सम्मानित गरिने प्रतिष्ठानले जनाएको छ ।
प्रतिष्ठानका अध्यक्ष हरिचरण बानियाँको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा अध्यक्ष बानियाँले यही मंसिर २० गते धाइजनमा एक समारोहबीच पुरस्कार वितरण गरिने जानकारी दिए ।
पत्रकार सम्मेलनमा प्रतिष्ठानका उपाध्यक्ष मनोज बानियाँ, सचिव डम्बर देउजा, सदस्यद्वय भाष्कर घिमिरे र मोहन काजीको उपस्थिति रहेको थियो । सो अवसरमा प्रेस क्लव मेचीनगरका अध्यक्ष डम्बर बरालले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए।
प्रतिकृया दिनुहोस्