पृथ्वीनारायण शाहको शालिक अनावरण गर्न पूर्वराजा ज्ञानेन्द्र शाह झापामा

2023-11-24 मा प्रकाशित

मेचीनगर । पूर्वराजा ज्ञानेन्द्र शाह पक्षले शनिबार झापामा अघोषित रुपमा शक्ति प्रदर्शन गर्ने भएको छ ।

पूर्व राजा ज्ञानेन्द्र शाह शनिबार झापाको विर्तामोडमा एउटा कलेजको उद्घाटन कार्यक्रममा सहभागि हुँदैछन् । उनी झापा आएको समयमा राजावादीले शक्ति प्रदर्शन गर्न लागेका हुन् ।

शनिबार दिउँसो शाहले झापाको विर्तामोडको रामचोकमा रहेको इकम कलेज र कलेजमा निर्माण गरिएको पूर्वराजा पृथ्वीनारायण शाहको शालिक अनावरण गर्ने कार्यक्रम छ ।

काठमाडौँमा दुर्गा प्रसाईंले राजाको पक्षमा शक्ति प्रदर्शन गरिरहेका छन् । प्रसाईंको प्रदर्शन चलिरहेका बेला झापामा औपचारिक कार्यक्रममा शाह सहभागि हुन लागेका हुन् ।
पूर्व राजा शाहलाई नागरिकतहबाट स्वागत गर्ने तयारी भइरहेको राप्रपा कोशी प्रदेश अध्यक्ष राम थापाले बताए ।

काठमाडौँबाट आज आएका शाह होटल मेची क्राउनमा बसेका छन्। शनिबार होटलबाट कार्यक्रम स्थलसम्म राजावादी पक्षले मोटरसाइकल र्‍यालीसहित लैजाने तयारी रहेको थापाले बताए ।

होटलमा पनि उनले आफ्ना समर्थकसँग भेटघाट गर्नेछन् । ‘पार्टीबाट होइन नागरिकको तहबाट स्वागत गर्ने तयारी छ,’ उनले भने, ‘होटलदेखि कार्यक्रम स्थलसम्म मोटरसाइकल र्‍यालीसहित उहाँलाई ल्याउने तयारी छ ।’ उनका अनुसार र्‍याली र पूर्व राजाको स्वागतमा राष्ट्रीय झण्डा प्रदर्शन हुनेछ ।

शनिबार दिउँसो १ बजे कलेजको उद्घाटन पछि शाह दमकस्थीत आफ्नो निवासमा आउनेछन् । आइतबार उनी काठमाडौँ फर्कने जानकारी आएको झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले जानकारी दिए ।

पूर्वराजा आउने र उनी पक्षधरले शक्ति प्रदर्शन गर्ने तयारी गरेपछि स्थानीय प्रशासनले सुरक्षा सतर्कता अपनाएको छ ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु