बाहुनडाँगीमा प्रकृति पार्क निर्माण हुने

2023-12-05 मा प्रकाशित

मेचीनगर । हात्तीलाई पर्यटनसंग जोड्न मेचीनगरको बाहुनडाँगी मा प्रकृति पार्क निर्माण हुने भएको छ ।

मेचीनगर ४ बाहुण्डाँगी स्थित मेची खोलामा निर्माण हुने प्रकृति पार्कको आज एक कार्यक्रममा बीच मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकी र उपप्रमुख मीना पोख्रेल उप्रेतीले संयुक्तरूपमा शिलान्यास गरेका छन् ।

हात्तीबाट प्रताडित बाहुनडाँगी क्षेत्रमा विगतदेखि नै मानव हात्ती सअस्तित्वको विभिन्न प्रयासहरू हुँदै आइरहेको छ । तर, त्यसले प्रभावकारी भूमिका निर्वाह गर्न भने खासै सकिरहेको छैन । फलस्वरूप अहिले पनि सिमावर्ती क्षेत्र बाहुण्डाँगीबासी र जंगली हात्ती बिच द्वन्द्व निरन्तर चल्दै आइरहेको छ ।


यसैबीच स्थानीय सरकार मेचीनगर नगरपालिकाले निरन्तर आउने हात्तीलाई नेपाल प्रवेशमा रोक लगाउँदै मेची खोलामा हात्तीलाई पर्यटनसंग जोड्ने अभियान सुरू गरेको छ । सधैं भारतबाट नेपाल प्रवेश गरी गाउँ घरमा क्षति पुर्याउँदै आएका जंगली हात्तीलाई सिमानामा नै रोकी नेपालीहरूको संभावित क्षति न्यूनीकरण गर्नुका साथै हात्तीलाई पर्यटन संग जोड्ने उदेश्यका साथ प्रकृति पार्कको अवधारणा ल्याइएको मेचीनगर ४ का वडाध्यक्ष अर्जुनकुमार कार्कीको भनाई छ ।

मेची किनारमा प्रकृति पार्क निर्माणसंगै नेपालकै ठुलो राष्ट्रिय झण्डा, २२ धारा, चिल्ड्रेन पार्क, फुलबारी, विभिन्न किसिमका बत्ती जडान हुने छ । ३२ लाखमा निर्माण हुने उक्त पार्कमा ५०र५० कार्यक्रम अन्तर्गत मेचीनगरबाट १६ लाख तथा नेपाल पर्यटन बोर्ड अन्तर्गत युएनडिपीको १६ लाख बजेट विनियोजन भएको छ । उपभोक्ता मार्फत निर्माण हुने सो पार्क पुस मसान्तसम्ममा निर्माण सम्पन्न हुने वडाध्यक्ष कार्कीले जानकारी दिए ।

प्रकृति पार्क शिलन्यास कार्यक्रममा नगरप्रमुख बुढाथोकी, उपप्रमुख उप्रेती, वडाध्यक्ष कार्की, वडासदस्य नुरबहादुर कार्की, पवन बराइली, मेची उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष ऋषी तिम्सिना, सहकारी अभियान्ता पोषककुमार दर्जी, तिर्थ नेपाललगायत नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत विभिन्न सामाजिक तथा राजनीतिक पार्टीका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु