लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान काँकरभिट्टामा अन्तरक्रिया

2023-12-09 मा प्रकाशित

काँकरभिट्टा । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत आज शनिबार १५ औं दिन काँकरभिट्टामा महिलाहरु बीचमा बृहत् अन्तरक्रिया सम्पन्न भएको छ ।

मेची सामुदायिक सेवा केन्द्र महिला उपसमितिले आयोजना गरेको कार्यक्रममा ज्येष्ठ महिला, गृहिणी, कर्मचारी, संघसंस्थाका प्रतिनिधि, महिला नेतृलगायत सयौं महिलाहरु सहभागी थिए ।

सो अवसरमा बोल्दै मेलमिलाप समिति सदस्य बिटु गुरुङले हिंसा घरघरमा हुने गरेको बताउँदै दैनिक घर परिवार टुट्ने घटना बढ्दै जानू दुःखद रहेको बताइन् । उनले मेलमिलाप समितिले पारिवारिक सम्बन्ध टुट्न नदिन अधिकतम प्रयास गर्ने गरेको बताइन् ।

कार्यक्रममा सहजीकरण गर्दै प्रहरी निरीक्षक अर्जुन पोख्रेलले हिंसालाई एकैपटक निरुत्साहित गर्न नसके पनि क्रमशः न्यूनिकरण गर्दै शुन्यको अवस्थामा झार्न सकिने बताए । प्रकृतिले महिला र पुरुषको रुपमा सृष्टि गरेपनी लिङ्गकै आधारमा गरिने विभेद दण्डनीय रहेको बताए ।

प्रमुख अतिथि संविधानसभा सदस्य उषा गुरुङले संविधानसभामार्फत महिलामाथि हुने सबै किसिमका हिंसा र विभेद निर्मुल पार्न कानुनीरुपमा दण्ड दिने किसिमको संविधान लेखिएको बताइन् । उनले वास्तविक पिडक र पीडित पत्ता लगाइ हिंसा विरुद्धको अभियानमा जोडिनु पर्ने धारणा राखिन् । महिलाहरुको अधिकारका लागि लचक रहेको संविधानलाई आवश्यक परे संशोधन गर्दै अझ व्यवहारिक र प्रभावकारी बनाउँदै लैजान सकिने बताइन् । उनले महिलाले आत्मविश्वास दरिलो बनाएर सहि काम गर्ने अठोटका साथ अघि बढ्न सके जोकोही महिला पुरुषसरह समाजमा स्थापित बन्न सक्ने बताइन् ।

सेवा केन्द्रकी सदस्य मिरा कार्कीको सञ्चालन रहेको कार्यक्रममा स्वागत शशी राई र सभापतित्व कोषाध्यक्ष रमा थापा मगरले गरेकी थिइन् ।

संविधानसभा सदस्य उषा गुरुङको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा सेवा केन्द्र अध्यक्ष मुक्ति पौडेलले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु