श्राप बगाउन १०८ स्थानमा श्रीमद्भागवत महापुराण आयोजना हुने

2023-12-14 मा प्रकाशित

विर्तामोड, २८ मंसिर । सतीको श्राप बगाउने र अकाल मृत्युवरण गरेका नेपालीहरुको आत्माको शान्तिको कामना गर्ने लक्ष्य लिएर मेचीदेखि महाकालीसम्म १०८ श्रीमद्भागवत महापुराण आयोजना हुने भएको छ ।

विर्तामोड वडा नं.५ को धार्मिक अनुष्ठान सेवा समाज नेपालले शुक्रवार मेचीनगरको नवदुर्गा मन्दिरबाट उक्त महापुराणको प्रारम्भ गरिने जनाएको छ ।

समाजका अध्यक्ष पं. माधवशरण खनालले मेचीेदेखि सुरु भएको पुराण यात्रा अबिराम रुपमा महाकालीसम्मै पुग्ने र जम्मा १०८ वटा स्थानमा महापुराण आयोजना हुने बताए ।

काजी भीम मल्लकी पत्नी सतीदेवीले देशको भलो चाहनेको कहिल्यै भलो नहोस् भनेर श्राप दिएको हुँदा मुलुकको उन्नतिमा मनोवैज्ञानिक प्रभाव परिरहेको जनाउँदै खनालले उक्त श्रापलाई धार्मिक विधिपूर्वक बगाइने कार्यक्रम रहेको जानकारी दिए ।

विर्तामोडस्थित समाजको कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी पुराण र अभियानका बारेमा जानकारी दिइएको हो । जस अनुसार एक स्थानमा ७ दिनसम्म पुराण गरिने भएको छ । पुराणका लागि व्यास आसनको रुपमा प्रयोग गर्न सकिने गरी रथ निर्माण गरिएको छ ।
खनालकै संकल्प अनुसार २०७६ सालदेखि १०८ श्रीमद्भागवत महापुराण सुरु गरिएको थियो । कोरोना महामारीका कारण अभियान रोकिएको थियो ।

१०८ पुराण सम्पन्न भइसक्न चार वर्ष लाग्ने र शुक्रवार १८ औं श्रीमद्भागत पुराणको आयोजना भइरहेको आयोजक समितिका सचिव भीमप्रसाद मिश्रले बताए ।

पत्रकार सम्मेलनको अध्यक्षता समितिका अध्यक्ष खनाल आफैले गरेका थिए भने सञ्चालन समितिकी सल्लाहकार एवम् अधिवक्ता हेमकला कट्टेलले गरेकी थिइन्

सो अवसरमा पं. घनश्याम ढकालले अभियान कमाउने उद्देश्य नभएको बताए । उनले १२ वटा स्थानमा आफैले निःशुल्क पुराण बाचन गरेर अभियानलाई सघाउने घोषणा समेत गरे ।

शुक्रवार मेचीनगरको वडा नं. ८ स्थित नवदुर्गा मन्दिरमा दिउँसो १२ बजे महापुराणको पं. देवीप्रसाद खतिवडाले कथा बाचन र आचार्य दुर्गाप्रसाद खतिवडाले उद्घाटन गर्नु हुने मन्दिर समितिका केशव तिम्सिनाले बताए ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु