पत्रकार सहारा उपचार कोषलाई एकैदिन ९ लाख सहयोग

2023-12-25 मा प्रकाशित

बिर्तामोड, पुस ९ । नेपाल पत्रकार महासंघ झापाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषमा सोमबार एकै दिन नौ लाख रुपैयाँभन्दा बढी रकम जुटेको छ ।

सोमबार बिर्तामोडमा महासंघ झापाको ३५औँ स्थापना दिवसको अवसर पारेर सामाजिक तथा व्यावसायिक क्षेत्रका दाताहरुले पत्रकारको सामाजिक सुरक्षाका लागि स्थापित उक्त कोषमा नगद तथा चेक प्रदान गरेका हुन् ।

कोषलाई एक करोड रुपैयाँ पुर्याउने लक्ष्यसहित महासंघले दाताहरुबाट सहयोग जुटाइरहेको छ । कोषको रकम लक्ष्यको नजिक पुगेको सो अवसरमा जानकारी दिइयो ।

कार्यक्रममा सामाजिक क्षेत्रमा क्रियाशील चारपानेका डिल्लीराम सिटौला, माया सिटौला र ध्रुव सिटौलाले परिवारको तर्फबाट एक लाख ११ हजार १११ रुपैयाँ प्रदान गरे । त्यस्तै, चारपानेका सामाजिक व्यक्तित्व नारायण राजवंशीले एक लाख एक हजार रुपैयाँ प्रदान गरेका छन् ।

सामाजिक अभियन्ता तथा व्यावसायिक क्षेत्रमा सक्रिय विनोद बस्नेतले एक लाख एक हजार रुपैयाँ प्रदान गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघ कोशीका उपाध्यक्ष कुमारमणि पोखरेलले एक लाख, वीरता जेसीजका पूर्वअध्यक्ष तथा हिमालय मेडिसिन सेन्टरका सञ्चालक यामकुमार खड्काले एक लाख, युवा व्यवसायी रोनक वंशलले एक लाख रुपैयाँ प्रदान गरेका छन् ।

चेम्बर अफ कमर्श झापाका अध्यक्ष ओमकृष्ण विमलीले ५० हजार रुपैयाँ प्रदान गरेका छन् । उनले यसअघि पनि कोषलाई ५० हजार रुपैयाँ प्रदान गरेका थिए ।

त्यस्तै, मेची पेट्रोलियम डिलर्स एसोसिएसनका तर्फबाट अध्यक्ष नवीन कोइरालाले २५ हजार रुपैयाँ, मारवाडी सेवा समिति बिर्तामोडका अध्यक्ष सुरेश भद्रपुरेले २५ हजार, बिर्तामोड उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष वेदप्रकाश अग्रवालले २१ हजार रुपैयाँ प्रदान गरेका छन् । मेची पेट्रोलियमले यसअघि कोषलाई ५० हजार रुपैयाँ सहयोग प्रदान गरेको थियो ।

कोषका लागि सामाजिक सेवामा सक्रिय व्यक्तित्वहरु भरतकुमार गिरीले ५१ हजार, जलकुमार गुरुङले ५१ हजार, कुमार गिरीले ५१ हजार, केदार गिरीले २५ हजार प्रदान गर्ने घोषणा गरेका छन् ।

केदार गिरीले यसअघि कोषमा ७५ हजार सहयोग प्रदान गरेका थिए । महासंघले केही समयभित्रै कोषलाई एक करोड पुर्याएर कोषका दाताहरुलाई संस्थापक घोषणा गरी सम्मान गर्ने तयारी गरेको अध्यक्ष एकराज गिरीले जानकारी दिए ।

झापाका पत्रकारहरुलाई घाइते र बिरामी हुँदा उपचार खर्च दिने पत्रकार उपचार कोषको दाताहरुले प्रशंसा गरेका छन् । कोषको ब्याजबाट पत्रकारहरु बिरामी तथा दुर्घटनामा घाइते हुँदा उपचार सहयोग प्रदान गरिँदै आएको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु