एनएफसी धुलाबारीले जित्यो उपाधी

2024-01-01 मा प्रकाशित

मेचीनगर ।मेचीनगर ७ मा जारी प्रथम जोरसिमल कप फुटबल प्रतियोगिता २०८० को उपाधी एनएफसी धुलाबारीले जितेको छ । सोमबार सम्पन्न प्रतियोगिताको फाईनलमा एनएफसी धुलाबारीले ब्रदर्श एफसीलाई ४–२ गोल अन्तरले पराजित गर्दै उपाधी चुमेको हो । एनएफसी धुलाबारीलाई विजेता बनाउन सेवन थापा मगरले २ गोल र आदित्य ढुङ्गेल र निरज कार्कीले एक एक गोल गरेका थिए भने ब्रदर्श एफसीका हेमन्त लिम्बुले दुई गोल गरेका थिए ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भएका ब्रदर्श एफसीका लिम्बुले फाइनल खेलमा पनि उत्कृष्ट प्रदर्शन गरे पनि उनको प्रयासले टिमलाई जित दिलाउन सकेन । फाइनल खेलको म्यान अफ दि म्याच धुलाबारीका आदित्य ढुङ्गेल घोषित भएका थिए भने प्रतियोगिताको उत्कृष्ट गोलकिपर धुलाबारीका आकाश खड्कालाई चयन गरिएको थियो । त्यस्तै बेष्ट डिफेन्डर धुलाबारीकै एन्जल गुरुङ, सर्बाधिक गोल कर्ता धुलाबारीकै सेवन थापा मगर घोषित हुँदा राइजिङ प्लेयरका रुपमा आयुर शिवा तथा राइजिङ स्टारको उपाधी धुलाबारीकै जसवन्त मेचेले हात पारेका थिए ।

प्रतियोगिताको विजेता बनेको धुलाबारीले ३१ हजार नगद सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्यो । उपविजेता ब्रदर्श फएसीले २१ हजार नगद सहित ट्रफि, मेडल र प्रमाण पत्रमा चित्त बुझायो । विजेता तथा उपविजेता खेलाडीहरुलाई मेचीनगर वडा नंं ७ का वडाध्यक्ष प्रल्हादमणी ओली, वडा नं १० का वडाध्यक्ष नारायण खनाललगायतले पुरस्कार वितरण गरे ।

मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीको प्रमुख आतिथ्यतामा आयोजित प्रतियोगिता समापन समारोहमा मेचीनगर ७ का वडाध्यक्ष प्रल्हादमणी ओली, झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले ९मामा०, मेची सामुदायिक सेवा केन्द्र काकरभिट्टाका अध्यक्ष मुक्ति पौडेललगायतले शुभकामना मन्तव्य राखेको थिए ।

आयोजक समितिका संयोजक सञ्जय मेचेको सभापतित्वमा सम्पन्न समापन समारोहमा मेचे समुदायिकको मौलिक नृत्य समेत प्रस्तुत गरिएको थियो । फाईनल भन्दा अघि स्थानीय १३ बर्ष मुनिका किशोरहरुको समेत फुटबल खेल सञ्चालन गरिएको थियो । पुस ९ गतेदेखि शुरु भएको प्रतियोगितामा मेचीनगरका ११ वटा टिमले सहभागिता जनाएका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु