नेकपा एमाले मेचीनगरले बुझायो ध्यानाकर्षण पत्र

2024-01-02 मा प्रकाशित

मेचीनगर १७  पुस । मेचीनगरमा केही दिनदेखि जनप्रतिनिधि र कर्मचारीबीच द्धन्द सिर्जना भएपछि त्यसको दिगो समाधान खोज्न र नगरको काम प्रभावकारी बनाउन माग गर्दै नेकपा एमाले मेचीनगरले आज ध्यानाकर्षण  पत्र बुझाएको छ । मेचीनगर नगरपालिकामा जनप्रतिनिधि र कर्मचारीबीचको तालमेल नभएका कारण जनअपेक्षा अनुसार काम हुन नसकेको र कार्य सम्पादनमा समस्या आउने गरेको एमालेको ठहर छ ।

केही दिनदेखि नगर प्रमुख गोपालचन्द्र बुढाथोकी र प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मीबीचको बिवाद उत्कर्षमा पुगे पछि आज एमाले मेचीनगरले नगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाएको हो । एमाले प्रदेश कमिटि सदस्य देवकुमार राईसहितको नगरपालिका पुगेको एमाले मेचीनगरको समूहले नगरप्रमुख बुढाथोकी र उपप्रमुख मिना पोखरेल उप्रेतीलाई संयुक्त रुपमा ध्यानाकर्षण पत्र बुझाएको छ । एमाले नगरकमिटीले लामो समय देखि समस्यामा रहेको नदीजन्य बस्तु र ढुंङ्गागिटि प्रकरणमा आवश्यक निति निमार्ण गरि तत्काल समाधान गर्न ध्यानाकर्षण गराएको हो ।

एमाले नगर अध्यक्ष राजु पोखरेलले हस्ताक्षर गर्नु भएको ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘नेकपा एमालेबाट बहुमत निर्वाचित जनप्रतिनिधीहरुले प्रतिनिधित्व गरेको मेचीनगरमा किन जनताका काम कारवाही दुरुस्त , प्रभावकारी र सहज हुन सकेनन् रु’ जनप्रतिनिधी र कर्मचारी बिचको समन्वय अभावलाई अविलम्ब व्यवस्थापन गरि कार्यसम्पादन सहज बनाउन एमालेले ध्यानाकर्षण पत्र मार्फत माग गरेको छ । त्यस्तै नदीजन्य सामाग्री तत्काल सहज बनाइ खुल्ला गर्न,नगर परिषदबाट पारित निती निर्देशिका कार्यविधीहरुले तोकेका विकास र प्रतिनिधित्वसंग सम्बन्धित बिभिन्न समिति, प्रतिष्ठान ,आयोग ,कार्यदलहरु अविलम्ब गठन गर्न र गठन भएका बिभिन्न समिति, प्रतिष्ठानहरुलाई तत्काल प्रभावकारी ढंगबाट सञ्चालन गर्न पनि ध्यानाकर्षण पत्रमा माग गरिएको छ ।

त्यस्तै जनताले नगरपालिका बाट पाउने सेवा सुबिधालाई सहज र प्रभावकारी बनाउदै सुसासन प्रत्याभुति दिन तथा कर्मचारीतन्त्र लाई चुस्त दुरुस्त बनाउदै जनता प्रति उत्तरदायी बनाउन पनि ध्यानाकर्षण गराइएको छ । नगरको नदिजन्य सामग्री उत्खनन र बिक्रिका बिषयमा उत्पन्न बिवादले उग्र रुप लिए पछि सोमबार नगरपालिका परिषर दिनभरजसो तनावपूर्ण थियो । ध्यानाकर्षण पत्र बुझ्दै नगरप्रमुख बुढाथोकीले आफुहरु आउनु भन्दा अगाडी कै समस्याका कारण नदिजन्य सामग्रीको सहि व्यवस्थापन हुन नसकेको बताउनु भयो । यो समस्या हामी निर्वाचित हुनु भन्दा अघि कै हो, नगरप्रमुख बुढाथोकीले भन्नुभयो, ‘यसलाई टुङ्गोमा पुर्याउन केही समय छ ।’

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु