नेपाली काँग्रेसले भन्यो : नगरलाई सुशासनयुक्त र भ्रष्टाचारमुक्त बनाउ

2024-01-02 मा प्रकाशित

झापा, १७ पुस । नेपाली कांग्रेसले मेचीनगरपालिकामा देखिएको जनप्रतिनिधि र कर्मचारीबीचको आन्तरिक द्धन्दका कारण नगरबासीले ठूलो सास्ती व्यहोर्नु परेको जनाएको छ । मेचीनगर नगरपालिकामा केही दिन यता विकसित घटनाक्रमलाई नजिकबाट नियालिरहेको जनाउँदै त्यसको समाधान ननिकाले मुकदर्शक नबन्ने चेतावनी समेत दिएको छ ।
नेपाली कांग्रेसले आज प्रेस विज्ञप्तिजारी गर्दे आफ्नो धारणा सार्वजनिक गरेको हो ।

पार्टीको झापा–१ का क्षेत्रीय सभापति इन्द्र बुढाथोकीले हस्ताक्षर गरेको उक्त विज्ञप्तिमा नगरपालिका सुशासनयुक्त र भ्रष्टाचारमुक्त हुनुपर्ने उल्लेख गरिएको छ ।

नेपाली कांग्रेसले मेचीनगर नगर नेतृत्वलाई प्रमुख प्रशासकीय अधिकृत नटिक्ने र जनप्रतिनिधिसँग पटकपटक विवाद हुनुपर्ने कारण के हो भनेर प्रश्न गरेको छ ।

“प्रमुख प्रशासकीय अधिकृत छोटो छोटो समयमा यहाँबाट अन्यत्र जानुपर्ने, जुनसुकै प्रमुख प्रशासकीय अधिकृत आउँदा पनि जनप्रतिनिधिहरुसँग नै पटकपटक विवाद हुनुपर्ने आखिर समस्या मेचीनगरमा आउने प्रमुख प्रशासकीय अधिकृतको मात्र हो त ?,” विज्ञप्तिमा प्रश्न सोधिएको छ–“कि समस्या मेचीनगरभित्रै छ ?”

कांग्रेसले ढुंगागिटीको विषयले विवाद निम्त्याएको जनाउँदै जनप्रतिनिधि र कर्मचारीबीचको झगडाले आम नगरबासी पीडित बन्न पुगेको ठहर गरेको छ ।

नगरपालिका दैनिक युद्धमैदान जस्तो बन्नुले नगरबासीले अपमानित महसुस गरेको र नगरमा कुशासन र भ्रष्टाचार मौलाएको कांग्रेसले दावी गरेको छ ।

नगरपालिकालाई अमुक पार्टीका कार्यकर्ता उतारेर युद्धमैदान बनाउने कार्य भइरहेकोमा आपत्ति व्यक्त गर्दै कांग्रेस पार्टीले नगरबासीले नियमित सेवा नपाउने अवस्था सिर्जना भइरहेमा पार्टीले नगर नेतृत्व र अवरोध गर्ने जोकोहीविरुद्ध संघर्षका कार्यक्रम मैदानमा उत्रिने चेतावनी दिएको छ ।

नगरपालिका र नगरबासीको अपमान हुनेगरी हालै भएका दूव्र्यवहारमा संलग्न दोषीमाथि कार्वाही गरिनु पर्ने माग गर्दै कांग्रेसले नगरका आन्तरिक समस्याको निराकरण नगर नेतृत्वले गर्नुपर्ने धारणा व्यक्त गरेको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु