आदिवासी जनजाति महासंघको पाँचौं नगर अधिवेशन भोलि, अधिवेशनले पहिचानको आन्दोलनलाई मुर्त रुप दिने

2024-01-12 मा प्रकाशित

काकरभिट्टा, २७ पुस । आदिवासी जनजाति महासंघ मेचीनगरको पाँचौं नगर अधिवेशन भालि हुने भएको छ । पहिचानको आन्दोलनकै रुपमा आयोजना गरिने भएको छ । पुस २८ गते शनिवारका दिन हुने महासंघको पाँचौ नगरसम्मेलनलाई प्रदेश नामाकरणको बिरोधका रुपमा सम्पन्न गर्ने महासंघ मेचीनगरका अध्यक्ष ओमप्रकाश खापुङले बताउनु भयो ।

अधिवेशनका बारेमा जानकारी दिने उद्देश्यले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा अधिवेशनका प्रमुख अतिथिका रुपमा रहनु भएका विद्वान व्यत्तित्व शंकर लिम्बुले आदिवासी जनजातिको अधिकार र पहिचानको बिषयलाई स्पष्ट पार्ने महासंघका झापा उपाध्यक्ष केवलराम राईले बताउनु भयो । दक्षीण एसियाबाट संयुक्त राष्ट्र संघमा प्रतिनिधित्व गरिसक्नु भएका लिम्बुले आदिवासीको अधिकार र प्रदेश नामाकंनमा आदिवासीहरुले उठाएको पहिचानको अधिकारको बिषयमा जानकारी गराउनु हुने पत्रकार सम्मेलनमा राईले बताउनु भयो ।

काकरभिट्टाको सामुदायिक भवनमा आयोजना हुने अधिवेशनमा अग्रजहरुको सम्मान, साँस्कृतिक कार्यक्रम र र्यालीको समेत आयोजना गरिएको अध्यक्ष खापुङले बताउनु भयो । अधिवेशनले आगामी कार्यकालका लागि आदिवासी जनजाति महासंघ मेचीनगरको नयाँ कार्यसमिति समेत चयन गर्ने पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो ।

मेचीनगरमा रहेका १९ वटा जातिय संगठनका तर्फबाट एक जना प्रतिनिधि र पाँच जना पर्यवेक्षक सहित करीब एक हजार जनाको सहभागिता हुने महासंघ मेचीनगरका सचिव चिरञ्जीवि खवासले जानकारी दिनुभयो ।

पहिचान बिरोधी भएर प्रदेश नामाकरणमा सहभागि भएकाले प्रदेश सांसद गोपाल तामाङलाई बहिस्कार गरिएको समेत पत्रकार सम्मेलनमा जानकारी गराईएको छ । ‘पहिचानको बिरुद्धमा लागेकै कारण हामीले प्रदेश सांसद गोपाल तामाङलाई कार्यक्रमको निम्तो दिएनौं,’ महासंघ झापाका उपाध्यक्ष केवलराम राईले भन्नुभयो, ‘प्रदेश नामाकरणमा उहाँले पहिचानको बिरुद्धमा हस्ताक्षर गर्नु भएकाले उहाँकै आँगनमा हुने कार्यक्रममा हामीले उहाँलाई सहभागि नराउने निर्णय गरेका हौं ।’ काकरभिट्टा निवासी तामाङ झापा क्षेत्र नं. १ प्रदेशसभा क बाट निर्वाचित सांसद हुनुहुन्छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु