मेचीनगर, २८ पुस । पहिचानवादी समूहका नेता शंकर लिम्बुले कोशी प्रदेशको नाम खारेज हुनु पर्ने माग गरेका छन् ।
शनिबार काँकरभिट्टामा नेपाल आदिवासी जनजाति महासंघ मेचीनगरको पाँचौँ अधिवेशनलाई सम्बोधन गर्दै प्रमुख अतिथि पहिचानवादी नेता लिम्बुले यस्तो धारणा व्यक्त गरेका हुन् ।
आदिवासी जनजाति अधिवक्ताहरुको समूह ९लाहुरनिप नेपाल० का उपाध्यक्ष समेत रहेका लिम्बूले कोशी नाम कुनै हालतमा नमान्ने बताए ।
‘हामीले कुनै गैर कानूनी काम गरेका छैनौँ’, लिम्बुले भने–‘राज्यले सबैको पहिचान मान्नुपर्छ । तर, त्यसका लागि कोशी प्रदेशको नाम खारेज हुनुपर्छ । कानूनमा हामीलाई अधिकार छ । गैर कानूनी काम गरेका छैनौँ । पहिचानको पक्षमा बोल्न नपाउने । अधिकारका लागि लड्दा राज्यपक्षले गोली ठोक्ने । यस्तो पनि हुन्छ लोकतन्त्रमा । संविधानले सबैलाई बोल्न पाउने हक दिएको छ ।’
कार्यक्रममा विशिष्ट अतिथि मेचीनगर नगरपालिकाका मेयर गोपालचन्द्र बुढाथोकी, उपमेयर मीना पोखरेल उप्रेती, नेपाल आदिवासी जनजाति महासंघ झापाका वरिष्ठ उपाध्यक्ष केवलराम राई लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
सोही अवसरमा आदिवासी जनजातिबाट मेचीनगर नगरपालिकामा निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरिएको थियो ।
यस्तै आदिवासी जनजाति महासंघ मेचीनगरलाई भवन बनाउन निःशुल्क १० धुर जग्गा दिने धुलाबारी निवासी स्व।पृथ्वीबहादुर वस्नेतका छोरा शंकर वस्नेतलाई समेत सम्मान गरिएको थियो ।
आदिवासी जनजाति महासंघ मेचीनगरका अध्यक्ष ओमप्रकाश खापुङको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रको स्वागत उपाध्यक्ष राम वाइबाले र सञ्चालन सचिव चिरञ्जीवी खवास र सञ्चारकर्मी भूमिका सुब्बाले संयुक्त रुपमा गरेका थिए ।
काँकरभिट्टा स्थित मेची सामुदायिक हलमा आयोजित अधिवेशनअघि कोशी प्रदेशको नाम खारेजीको माग गर्दै नारा, व्यानरसहित १९ वटा जातिय संघ–संगठनका एक हजार भन्दा बढी सहभागी पहचिान पक्षधरहरुले र्याली प्रदर्शन गरेका थिए । अधिवेशनले आजै नयाँ नेतृत्व समेत चयन गर्दै छ ।
प्रतिकृया दिनुहोस्