मेचीनगर । कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री गणेश उप्रेतीले मानव र हात्तीबीचको द्धन्द समाधानको लागि हात्ती करिडोर निर्माण गर्नुको विकल्प नभएको बताएका छन् ।
मेचीनगरको बाहुनडाँगी बजारमा आयोजित तरुल उत्सव कार्यक्रमलाई उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् । “बाहुनडाँगीवासी जंगली हात्तीबाट वर्षौंदेखि प्रताडित छन्” कार्यक्रमका प्रमुख अतिथि मन्त्री उप्रेतीले भने, “मानव–हात्ती द्धन्द्धलाई दीर्घकालीन रुपमा समाधान गर्न हात्ती करिडोर निर्माण गर्नुको विकल्प छैन । उनले करिडोर निर्माणका लागि गृहकार्य सुरु गरिएको समेत बताए ।
पर्यटकीय दृष्टिले प्रचुर सम्भावनायुक्त बाहुनडाँगीमा हात्ती अभिसाप होइन अवसर हो भन्ने नजिर स्थापित हुनेमा उनले विश्वास व्यक्त गरे । बाहुनडाँगीलाई पर्यटकीय ‘हब’को रुपमा स्थापित गर्न हात्ती करिडोर क्षेत्र, होमस्टे, ग्रामीण कृषिजन्य उत्पादनमा टेवा पुर्याउन आवश्यक बजेट उपलब्ध गराउने उनले प्रतिबद्धता जनाए ।
उत्सवको उद्घाटन सत्रमा विशिष्ट अतिथि भारतका ग्रामीण पर्यटन अभियन्ता राज वशुले उत्सवले स्थानीय अर्गानिक कृषिजन्य उत्पादनको प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । उत्सव कृषिलाई पर्यटनसँग जोडेर आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन अनुकरणीय बन्ने उनको भनाई थियो ।
त्यसक्रममा स्वागत भाषण गर्दै मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना उप्रेतीले विषादीयुक्त तरकारीलाई विस्थापन गरी अर्गानिक उत्पादनलाई प्रोत्साहन गर्न उत्सवले विशेष महत्व राख्ने बताइन् ।
उद्घाटन कार्यक्रममा मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकी, विभिन्न राजनीतिक दल, संघ संस्था, सुरक्षा निकाय, सरकारी निकायलगायतका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति थियो । सो अवसरमा भारत बागडोग्राका कलाकारहरुले मगर समुदायको लोक संस्कृति उजागर गर्ने स्वागत नृत्य प्रस्तुत गरेका थिए ।
त्यस्तै, मेचीनगरको संगीनी टोलीबाट संगीनी नृत्य, इष्ट होराइजन अंग्रेजी माविका विद्यार्थीबाट मुसहर जातिको लोक नृत्यलगायत नेपाल तथा भारतका सांस्कृतिक टोलीबाट जातिय तथा सांस्कृतिक पहिचान झल्काउने नृत्य प्रस्तुत भएको थियो ।
मेचीनगर नगरपालिकाका कार्यपालिका सदस्य एवं कार्यक्रम संयोजक हृदयसिंह राजवंशीको अध्यक्षतामा आयोजित दुई दिवशीय उत्सवको सञ्चालन वडा नम्बर ४ का अध्यक्ष अर्जुनकुमार कार्कीले गरेका थिए ।
मेचीनगर नगरपालिकाले आयोजना गरेको उत्सवको सहआयोजकमा पर्यटन कार्यालय काँकरभिट्टा, र्यापिड रेस्पोन्ड टीम मेचीनगर, बाहुनडाँगी जेसीज र सहारा नेपाल चारपाने छन् । उत्सवमा स्थानीयस्तरमा उत्पादीत तरुललगायत पूर्वी नेपालका कृषिजन्य उत्पादनका दर्जनबढी स्टलहरु राखिएका छन् ।
उत्सवमा नेपाल रेडक्रश सोसाइटी भद्रपुरको प्राविधिक सहयोग र बाहुनडाँगी जेसीजको सहकार्यमा रक्तदान तथा काँकरभिट्टा आई केयर सेन्टरको प्राविधिक सहयोग र बाहुनडाँगी जेसीजको सहकार्यमा निःशुल्क आँखा शिविर सञ्चालन भइरहेको छ ।
प्रतिकृया दिनुहोस्