काँकरभिट्टा । ७२ औं अन्तर्राष्ट्रिय भन्सार दिवशको अवसरमा बुधबार काँकरभिट्टामा “राजस्व संकलनमा भन्सार” विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । मेची भन्सार कार्यालयको आयोजनामा सम्पन्न कार्यक्रममा मेचीनगर क्षेत्रका १५ वटा संस्थागत एवम् सामुदायिक विद्यालयहरुले सहभागिता जनाएका थिए । प्रतियोगितामा सरस्वती बाल कल्याण माविको कक्षा १२ का चिरञ्जीवी कोइराला प्रथम, बाल सुवोधिनि माविको कक्षा १० का रमेश नेपाल द्धितीय र कविशिरोमणि माविको कक्षा १२ का उषा निरौला तृतीय भए । प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय भएका विद्यार्थीलाई यही शुक्रवार हुने भन्सार दिवश समारोहमा पुरस्कार राशी जनही क्रमशः ५, ४ र ३ हजार रुपैयाँ र प्रमाणपत्रद्वारा पुरस्कृत गरिनेछ ।
भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीको सभापतित्व तथा मेचीनगर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत होमनाथ भण्डारीको प्रमुख आतिथ्य रहेको कार्यक्रममा प्रमुख अतिथि भण्डारीले राजस्व देश विकासको मेरुदण्ड भएको बताए । विद्यार्थीहरुको प्रतिभा देखेर उत्साहित बनेका प्रमुख अतिथि भण्डारीले
विद्यार्थीहरुको अन्तरनिहित प्रतिभा पहिचान गरी उजागर गर्न यी र यस्ता कार्यक्रम शिक्षा क्षेत्रबाट हुनुपर्नेमा भन्सारले अगुवाई गरेकोमा भन्सार कार्यालयलाई धन्यवाद समेत दिए ।
कार्यक्रममा हिमालयन अङग्रेजी माविका प्रिन्सिपल जगत तामाङले विद्यार्थीलाई भन्सारबारे विद्यालयस्तरमै ज्ञान दिइनुपर्नेमा जोड दिँदै भन्सार अधिकृत र विद्यार्थीबीच अन्तक्र्रिया भएमा भन्सारको महत्व, राजस्व संकलनको अवस्था, सम्भावना र चुनौतिबारे विद्यार्थीको सिकाईको दायरा फराकिलो बन्ने धारणा राखे । कार्यक्रमका सभापति प्रमुख भन्सार अधिकृत रेग्मीले विद्यालयमा भन्सारबारे सचेतना अभिवृद्धि गर्न गरिएको अन्तक्र्रिया उपलब्धिमूलक बनेको विश्वास व्यक्त गर्दै आगामी दिनमा विद्यालय स्तरमा कार्यक्रम लैजाने बताए ।
मेची सामुदायिक सेवा केन्द्रको संयोजन तथा ट्रान्स नेपाल फ्रेट सर्भिसेज प्रालि मेचीनगरको प्रायोजनमा सम्पन्न कार्यक्रममा ईलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख एवं प्रहरी नायव उपरीक्षक दीपक भारती, ट्रान्स नेपाल फ्रेट सर्भिसेज प्रालि मेचीनगरका प्रमुख राजेश तिवारी, प्रेस क्लव मेचीनगरका अध्यक्ष डम्बर बराल, भन्सार कार्यालयका कर्मचारीलगायतको आतिथ्यता रहेको थियो ।
प्रतियोगितामा सहप्राध्यापक एवं बाल जागरण मञ्च झापाका अध्यक्ष मणिकुमार लिम्बू र सहप्राध्यापक तथा सञ्चारकर्मी स्वस्तिका आचार्य सिटौलाले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।
मेची सामुदायिक सेवा केन्द्रका अध्यक्ष मुक्ति पौडेलले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन कार्यक्रम संयोजक तथा प्रेस क्लव मेचीनगरका उपाध्यक्ष जीआर धितालले गरेका थिए ।
प्रतिकृया दिनुहोस्