शहरी विकास मन्त्री सिता गुरुङ भोलि मेचीनगर आउँदै

2024-01-25 मा प्रकाशित

मेचीनगर । संघीय सरकारका शहरी विकास मन्त्री सिता गुरुङ भोलि शुक्रबार झापाको मेचीनगर आउने हुनु भएको छ । झापा क्षेत्र नं.१ का प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्माको निम्तोमा मन्त्री गुरुङ मेचीनगर आउन लाग्नु भएको हो । मन्त्री गुरुङ कुनै सरकारी वा व्यक्तिगत प्रयोजनका लागि नभइ सांसद शर्माको निम्तोमा काकरभिट्टाको अवस्था बुझन आउन लाग्नुभएको हो । पूर्वी नेपालको सिमान्त शहर काकरभिट्टाका अधिकाशं मुख्य क्षेत्रहरु भएको जमिन अहिलेसम्म पनि स्थानीय तहको नाममा आउन नसकेकोले ति जमिनहरुलाई नगरपालिकाको नाममा ल्याउन शहरी विकास मन्त्रीलाई स्थलगत रुपमा नै अवलोकन गराउन लागिएको प्रतिनिधिसभा सदस्य शर्माले बताउनु भयो ।
‘काकरभिट्टाका सबैजसो सार्वजनिक सम्पत्ती रहेको जमिन अहिले पनि ग्रामिण आवास कम्पनीकै नाममा छ,’ सांसद शर्माले भन्नुभयो, ‘जमिन कम्पनीका नाममा भएका कारण कुनै पनि संरचना बनाउँदा पनि नक्सा पास नहुने र नगरपालिकाले निर्माण गर्ने भनिएको संरचना पनि बनाउन नपाएको अवस्था छ ।’ काकरभिट्टाको विकास नै ठप्प हुने गरी जमिनको समस्या आएकाले त्यसको समाधानका लागि सम्बन्धीत मन्त्रीलाई नै स्थलगत अवलोकन गराउन लागेको शर्माको भनाई छ । ‘सबैले धेरै पटक पहल गरिएकै हो,’ उहाँले भन्नुभयो, ‘तर अहिलेसम्म काम भएन त्यसैले मन्त्रीलाई नै स्थलगत रुपमा देखाउने र त्यसको अवस्थाका बारेमा जानकारी गराएर ति जमिनहरुलाई नगरपालिकाको मातहतमा ल्याउने काम अगाडी बढाउने हो ।’

ग्रामिण आवास कम्पनीका नाममा रहेको जमिन मेचीनगर नगरपालिकाको नाममा ल्याउन विगतदेखि नै पहल भइरहेको छ । तीन महिना अघि मात्रै सांसद शर्माकै संयोजनमा कोशी प्रदेश सांसद गोपाल तामाङ, मेचीनगरका वर्तमान नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, पुर्व नगरप्रमुख बिमल आचार्य, पुर्व नगरप्रमुख तथा संविधान सभा सदस्य रविन कोइराला, काकरभिट्टा गाविसका तत्कालिन अध्यक्ष डिल्लीराम घिमिरे लगायतको समूहले शहरी विकास मन्त्रालयमा नै पुगेर मन्त्री गुरुङसंग भेट गरेको थियो ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु