७२ औं अन्तर्राष्ट्रिय भन्सार दिवस : मेची भन्सार कार्यालयद्धारा तीन पत्रकार सहित दर्जनौंलाई सम्मान तथा पुरस्कार वितरण

2024-01-26 मा प्रकाशित

मेचीनगर । मेची भन्सार कार्यालयले ७२ औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसर पारेर शुक्रबार  तीन जना पत्रकार सहित बिभिन्न संघ संस्था, ब्याक्ति तथा भन्सारका कर्मचारीहरुलाई सम्मान गरेको छ ।


कार्यालयले सीमाक्षेत्र र भन्सारसँग सम्बन्धित विषयमा कलम चलाएको भन्दै जनसंसद डट.कम.का सम्पादक मुक्ति पौडेल, मेरो मेचीनगर अनलाइनका सम्पादक लक्ष्मी उप्रेती र रासस झापा प्रतिनिधि अम्बिका भण्डारीलाई सम्मान गरेको हो ।
कार्यक्रममा गतवर्ष सर्वाधिक राजस्व दाखिला गर्ने नेपाल आयल निगम चारआली शाखाका प्रमुख शरणराज भट्टराई, गतवर्ष सर्वाधिक मूल्यको मालवस्तु निकासी गर्ने आरती स्ट्राइप्स प्रालि टंकिसिनुवारी मोरङका कार्यकारी प्रमुख विशाल गुप्ता र गतवर्ष सर्वाधिक मूल्यको कृषिजन्य मालवस्तु निकासी गर्ने नेपाल एभरेष्ट कार्डामम प्रडक्सन एण्ड प्रोसेसिङ प्रालिका ओमकृष्ण विमलीलाई सम्मान गरेको थियो ।


त्यसैगरी भन्सार विभागबाट पुरस्कृत भएका एभरग्रिन ट्रेड सेन्टरका प्रोपाइटर केशवराज पाण्डे र मेची भन्सारका कम्प्युटर अपरेटर श्याम रिजाललाई सम्मानपत्रसहित दोसल्ला ओढाएर सम्मान गरेको छ ।
कार्यक्रममा मेची भन्सारका कर्मचारीतर्फ कम्प्युटर अधिकृत चन्द्रबहादुर क्षेत्री, नायब सुब्बा लक्ष्मण तामाङ र भद्रपुर भन्सारकी कार्यालय सहयोगी रिता खवास कार्कीलाई समेत सम्मान गरिएको छ ।
मेची भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीको सभापतित्व तथा झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाको प्रमुख आतिथ्य रहेको कार्यक्रममा प्रमुख अतिथि बाँस्तोलाले झापा जिल्लाको करिब १ सय ४४ किलोमिटर नेपाल–भारत खुल्ला सीमा क्षेत्र रहेकोले राजश्व चुहावट नियन्त्रण गर्न कठिन भएको बताएका छन् । भन्सारमा अत्याधुनिक प्रणाली लागू भई कार्यान्वयनमा आएको भएपनि राजस्व चुहावट नियन्त्रण हुन नसकेको उनको भनाई थियो ।
कार्यक्रममा विशिष्ट अतिथि भारत नक्सलबाडी कस्टम डिभिजनकी असिस्टेन्ट कमिस्नर निमा ल्हामू शेर्पा, नेपाल उद्योग वाणिज्य महासंघका पूर्वकेन्द्रीय सदस्य केशवराज पाण्डे, उद्योग महासंघका केन्द्रीय सदस्य उमेश डालमिया, चेम्बर अफ कमर्सका जिल्ला अध्यक्ष ओमकृष्ण विमली, मेची सामुदायिक सेवा केन्द्रका अध्यक्ष मुक्ति पौडेल लगायतले बोलेका थिए ।
कार्यक्रमको अवसरमा भन्सारले यस अघि आयोजना गरेको साताब्यापी कार्यक्रम अन्तर्रगत वतृत्वकला प्रतियोगितामा उत्कृष्ट बनेका प्रतियोगिहरुलाई समेत पुरस्कार वितरण गरेको छ । प्रतियोगितामा सरस्वती बाल कल्याण माविका चिरञ्जीवी कोइराला प्रथम भएका थिए भने बाल सुबोधिनी माविका रमेश नेपाल द्धितीय र कविशिरोमणि माविकी उषा निरौलाले तृतीय स्थान हासिल गरेकी थिइन् । भन्सार कार्यालयले उनीहरुलाई जनही ५, ४ र ३ हजार नगदसहित प्रशंसापत्र प्रदान गरियो ।
यस्तै, ब्याडमिन्टन प्रतियोगितामा प्रथम भएका बिर्तामोडका चाणक्य पाठक र उत्सव उप्रेती, द्धितीय भएका मेचीनगरका दीपक घिमिरे र भिसन राई तथा तृतीय भएकाहरु दमकका प्रकाश राई र सुदेन राई एवं कुशल बस्नेत र जुनुन राईको जोडीलाई जनही पुरस्कारराशी क्रमशः २५, १५ र ५ हजार नगदसहित प्रशंसापत्र प्रदान गरियो ।
त्यसक्रममा दिवस लक्षित साताव्यापी प्रतियोगिताको व्यवस्थापन तथा संयोजन गर्ने मेची सामुदायिक सेवा केन्द्र, रोटरी क्लब अफ काँकरभिट्टा, मेची उद्योग वाणिज्य संघलगायतका संघसस्थालाई सम्मान गरिएको थियो ।
कार्यक्रममा स्वागत भद्रपुर भन्सार कार्यालयका अधिकृत अमित तिवारी र सञ्चालन मेची भन्सारका नायब सुब्बा वीपी कोइरालाले गरेका थिए ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु