मेचीनगरको विकासकोलागि यहाँका राजनीतिक दलबीचको एकता र सद्भाव सम्मान योग्य छ : मन्त्री गुरुङ

2024-01-26 मा प्रकाशित

धुलाबारी । संघीय सहरी विकास मन्त्री सिता गुरुङले मेचीनगरको विकासकोलागि यहाँका राजनीतिक दल बीचको एकता र सदभाव सम्मान योग्य रहेको बताएकी छिन् । नेपाली काँग्रेसको केन्द्रीय सदस्य समेत रहुन भएकी मन्त्री गुरुङले शुक्रबार अपरान्ह नेपाली काँग्रेस झापा क्षेत्र नं. १ को कार्यालयमा आयोजित भेटघाट कार्यक्रममा बोल्दै उनले सो कुरा बताएकी हुन् । झापा जिल्लाको विकासका निम्ति आफ्नो मन्त्रालयबाट छुट्याएको बजेटको प्रशंग कोट्याउँदै मन्त्री गुरुङले यहाँको विकासका पूर्वाधारहरुलाई व्यवस्थित गर्न सके यस क्षेत्रलाई आर्थिक केन्द्रको रुपमा स्थापित गर्न सकिने विश्वास ब्यक्त गरिन् । नेपाली परिवेशमा महिलालाई राजनीतिमा खरो उत्रन निक्कै संघर्ष गर्नु पर्ने तितो यथार्त सुनाउँदै उनले भनिन्, ‘महिलालाई राजनीतिमा आउनै गारो छ, आए पछि टिकट पाउनै गारो छ, टिकट पाए पनि जित्न गारो छ,। ’ उनले ‘जुनसुकै पार्टीको भए पनि महिला प्रमुख भएको पालिकाहरुमा प्राथमिकताका साथ सहयोग गर्ने बताइन् । उनले काँकरभिट्टा बसपार्क, मेचीनगरका बिभिन्न वडामा सडक तथा ड्रेन निर्माण लगायतका विकास निर्माणकोलागि बजेट समेत विनियोजन गरेको बताइन् ।

काँग्रेस क्षेत्रीय सभापति इन्द्र बहादुर बुढाथोकीले झापा क्षेत्र नं. १ मा लामो समय पछि काँग्रेसले प्रतिनिधि सभामा विजयी भएकाले यस क्षेत्रको विकास निर्माणमा बिषेश महत्व दिन मन्त्री गुरुङलाई आग्रह गरेका थिए । त्यस अवसरमा सांसद शर्माले क्षेत्रको विकास निर्माणमा सहरी विकास मन्त्रीका रुपमा गुरुङले विभिन्न योजनाहरुमा बजेट विनियोजन गरेको बताए ।

कार्यक्रममा नेपाली काँग्रेसका झापाका उपसभापति केशवराज पाण्डे, महासमिति सदस्यहरु बिमल आचार्य, तेजप्रसाद चौलागाई, उषा गुरुङ, दुर्गा खतिवडा लगायत काँग्रेसका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो । कार्यक्रममा नेपाली काँग्रेसका महामन्त्री तथा संघीय सांसद विश्वप्रकाश शर्माले आफ्नो क्षेत्रमा मन्त्री गुरुङलाई स्वागत गरेका थिए ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु