मेचीनगरमा चार जातिले एकैसाथ मनाउँदै ल्होछार

2024-01-30 मा प्रकाशित

मेचीनगर । मेचीनगर १३ मा बसोबास गर्ने चार जाति (शेर्पा, मगर, तामाङ र गुरुङ)ले संयुक्त रुपमा माघ २० गते ल्होछार मनाउने भएका छन् ।
पूर्वबाट एकताको सन्देश दिन बौद्ध धर्मावलम्बी चार जातिले एक साथ ल्होछार पर्व मनाउने गरी संयुक्त ल्होछार (डुग ल्हो) समिति गठनगरी कार्यक्रमको तयारीमा जुटेका हुन् ।
आयोजकले आज पत्रकार सम्मेलन आयोजना गरेर कार्यक्रमको बारेमा जानकारी गराएको हो । चारआली उत्तर पुरानो गुम्बामा विशेष पूजा अर्चना सहित सांस्कृतिक कार्यक्रम आयोजना गरिने आयोजकले जनाएको छ ।
फरक फरक समयमा नभई एकै मितिमा सबै जातिले पर्व मनाउँदा भव्य पनि हुने र सबै जातिको ऐक्यवद्धता रहने भएकाले नौलो अभ्यासको शुरुवात गर्न लागिएको आयोजक समितिका अध्यक्ष फूर्वा लामाले बताए ।
‘पटकपटक छुट्टी दिँदा राज्यलाई पनि धेरै भार पर्छ, त्यसैले सबै जाती मिलेर एउटै मितिमा किन पर्व मनाउन सकिँदैन ? भनेर पनि हामीले यसरी ल्होछार पर्व मनाउँन लागेका हौँ’, पत्रकार सम्मेलनममा बोल्दै उनले भने ।
भिन्न भिन्न तवरबाट पर्व मनाउँदा जाति जातिबीच भिन्नता पनि महसुस हुने गरेको र एकैसाथ मनाउँदा एकताको सन्देश प्रर्वाह हुने भएकाले यस प्रकारको कार्यक्रम आयोजना गर्न लागिएको नेपाल तामाङ घेदुङका जिल्ला सदस्य मान बहादुर तामाङको भनाई छ ।
कार्यक्रममा प्रदेश १ का आन्तरीक मामिला तथा कानून मन्त्री शमशेर राईको प्रमुख आतिथ्यता तथा प्रदेश १ ‘क’ र ‘ख’ बाट निर्वाचित सांसद, नगरपालिकाका प्रमुख उपप्रमुख, वडासदस्यहरुको आतिथ्यता रहने आयोजकले जानकारी दिएको छ ।
कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहनेछ भने जातजातीको झाँकी प्रस्तुत गरिने आयोजकको भनाई छ । पत्रकार सम्मेलनमा ल्होछार पर्व मनाउने चारवटै जातिका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु