काँकरभिट्टामा माघ २७ गते सांगीतिक कार्यक्रम हुने

2024-01-30 मा प्रकाशित

काँकरभिट्टा । आगामी माघ २७ गते मेचीनगरको काँकरभिट्टामा गोर्खा सांगीतिक साँझ–२ आयोजना हुने भएको छ ।
द गोर्खा मेमोरियल फाउण्डेशन नेपालको आयोजनामा हुने सांगीतिक साँझलाई सांगीतिक क्षेत्रमा छुट्टै पहिचान बनाएका गोर्खा मेमोरियल फण्ड यूकेका अध्यक्ष एवं बेलायतको फोक्सटन सिटीका पूर्व काउन्सिलर धनकिरण गुरुङको विशेष प्रस्तुती रहने छ ।
आयोजकले मंगलबार काँकरभिट्टा स्थित होटल हिकोला हेरिटेजमा पत्रकार सम्मेलन आयोजना गरेर सांगीतिक कार्यक्रमको बारेमा जानकारी गराएको हो ।
पत्रकार सम्मेलनमा प्रमुख अतिथि समेत रहेका गोर्खा मेमोरियल फण्ड यूकेका अध्यक्ष एवं बेलायतको फोक्सटन सिटीका पूर्व काउन्सिलर धनकिरण गुरुङले नेपालको विकासमा बेलायतले पु्र्याएको सहयोग, मेचीनगर र फोक्साटन सिटीबीचको भगिनी सम्बन्ध तथा नगरको विकासमा आफूले खेलेको भूमिका को बारेमा खुलेर कुरा गरेका गुरुङले सांगीतिक साँझले व्याक्तिको व्याक्तित्व तथा नगरको विकासमा समेत सहयोग पुग्ने बताए ।
सांगीतिक साँझमा भारत दार्जिलिङका चर्चित हास्य कलाकार महेन्द्र बागदासको समेत बेजोड प्रस्तुति रहने छ । त्यस्तै, गायिका सृष्टि हिङ्माङ, द भ्वाइस अफ किड्सको रनर अप अनुजा कडँरियासहित अन्य कलाकार र ख्यातीप्राप्त ब्याण्डको समेत प्रस्तुति रहने भएको छ ।
कन्सर्टको उद्घोषण चर्चित उद्घोषक पश्चिम बंगालका मिस्टर सिंह र सञ्चारकर्मी भूमिका सुब्बाले गर्ने छन् । मेचीनगर नगरपालिका संरक्षक रहेको सांगीतिक साँझको सह आयोजक काँकरभिट्टा भेट्रान फुटबल क्लब रहेको छ ।

कार्यक्रममा फाउण्डेशनका महासचिव जगत गुरुङ, काँकरभिट्टा भेट्रान फुटबल क्लबका महासचिव शेरबहादुर बस्नेत(सुन्दर), प्रथम उपाध्यक्ष राजु पौडेललगायत फाउण्डेशन र भेट्रानका पदाधिकारी तथा सदस्यहरु सहभागी थिए ।
फाउण्डेशनका अध्यक्ष नगेन्द्र गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत फाउण्डेशनका उपाध्यक्ष एवं भेट्रानका अध्यक्ष गंगालाल गुरुङ र सञ्चालन फाउण्डेशनका सदस्य सन्तोष आचार्यले गरेका थिए । तीन वर्षअघि फाउण्डेशनलले पहिलो पटक काँकरभिट्टामा संगीतिक कार्यक्रम आयोजना गरेको थियो ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु