दशकपछि सञ्चालनमा आयो प्यारिभिट्टा बसपार्क

2024-02-02 मा प्रकाशित

डम्बर बराल
मेचीनगर । मेचीनगर–७ स्थित प्यारिभिट्टामा बहुप्रतिक्षित रुपमा रहेको प्यारिभिट्टा बसपार्क तीन सातादेखि सञ्चालनमा आएको छ ।
बसपार्क सञ्चालनमा आएपछि स्थानीयहरु समेत उत्साहित बनेका छन् । निर्माण भएको एक दशक सम्मपनि बसपार्क सञ्चालनमा नआउँदा दुःखी बनेका जग्गादाताको मुहारमा समेत यतिखेर खुसी छाएको छ । मेचीनगरको गौरवको योजना बसपार्क सञ्चालनको लागि यसअघि दुईपटक औपचारिक कार्यक्रम नै गरिएको थियो । दोस्रो पटक गत असोज ३० गते औपचारिक कार्यक्रम गरेर बसपार्क शुभारम्भ भएको घोषणा नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले गरेका थिए । अभियानलाई सफल पार्न बसपार्क ब्यवस्थापन समितिले समेत निक्कै कसरत गर्याे । बसपार्क शुभारम्भ गरिएपनि पार्कमा तत्काल बस प्रवेश नगर्दा मेचीनगरपालिका, ७ नम्बर वडा कार्यालय र ब्यवस्थापन समितिको निम्ति बसपार्क सञ्चालन निक्कै चुनौति बन्दै आएको थियो ।
जस्तोसुकै परिस्थितिको सामना गरेर भएपनि प्यारिभिट्टा बसपार्क सञ्चालन गराएरै छाड्ने संकल्प लिएको समिति, वडा कार्यालय र मेचीनगरको निरन्तर प्रयासपछि तीन सातादेखि बसपार्क सञ्चालनमा आएको हो ।
१० वर्ष अघि मेचीनगर नगरपालिकाको आन्तरिक स्रोतबाट रु. ३ करोड ३६ लाख २८ हजार र नगर विकास कोषको ऋणबाट रु. ७ करोड ७७ लाख ७२ हजार गरी कुल ११ करोड ११ लाख, ४ हजार रुपैयाँको लागतमा बसपार्क निर्माण सम्पन्न भएको थियो ।
नगरपालिकाले बसपार्क सञ्चालनको लागि डिल्लीराम घिमिरेको अध्यक्षतामा सबै दलको प्रतिनिधित्व गराउँदै बसपार्क समिति गठन गरेर काम अघि बढाएको थियो । बसपार्क सञ्चालनको लागि समितिले सुरुका दिनमा निक्कै ठूलो चुनौतिको सामना समेत गर्नु परेको थियो ।


‘बसपार्कलाई ब्यवस्थित सञ्चालन गर्न तीन महिना अघि शुभारम्भ गरिएको थियो’, मेचीनगर–७ का वडाध्यक्ष प्रह्लादमणि ओलीले भने, ‘यसलाई बसपार्कको रुपमा अघि बढाउन सबै पक्षसँग निरन्तर सम्बाद र छलफलबाट नयाँ उत्साहका साथ बसपार्क सञ्चालनमा आएको छ । एक दशक सम्म बसपार्क अलपत्र हुँदा निर्माण भएका धेरै कुरा तोडफोड भएका थिए । हामीले कार्यपालिकाको बैठकबाट निर्णय गरेर केही बजेट विनियोजन गरी मर्मत सम्भारका थुप्रै काम सम्पन्न गरेको छौं, अझै केही काम बाँकी छ अव क्रमश सबै ब्यवस्था हुनेछ ।’
उनले लामो समयको अथक प्रयासबाट बसपार्क सञ्चालनमा आएको भन्दै खुसी ब्यक्त गरे । प्यारिभिट्टा बसपार्कलाई देशकै नमूना बसपार्कको रुपमा विकास गर्ने योजना रहेको उनको भनाइ छ ।
प्यारिभिट्टा बसपार्क नेपालकै सबैभन्दा ठूलो बसपार्क भएको बताउँदै उनले यसको पूर्ण सञ्चालन पछि मेचीनगरको दिगो विकासमा सहयोग पुग्ने बताए । लामा तथा छोटा दुरीका गाडीहरु बसपार्कमा छिरेर काँकरभिट्टा टर्मिनल तर्फ जानेगरेको बताउँदै ओलीले काँकरभिट्टा क्षेत्रमा रहेका ग्यारेज समेत बसपार्कमा आइसकेले व्यवसायीहरु समेत उत्साहित देखिएको बताए । उनले बसपार्क क्षेत्रमा निर्माण गरिएका सबैकोठा भाडामा लागिसकेको जानकारी दिए ।


प्यारिभिट्टाको बसपार्क व्यवस्थापन गर्नु र काँकरभिट्टको बस पार्कलाई टर्मिनल बनाउने लक्ष अनुरुप काम गरिरहेको बस पार्क ब्यवस्थापन समितिका अध्यक्ष डिल्लीराम घिमिरेले बताए । उनले भने, ‘लामो संघर्ष पछि हामी सफल भएका छौं उनले भने, ‘उद्देश्य अनुरुप उत्साहजनक ढंगले काम अघि बढेको छ । बसपार्क सञ्चालनमा आएपछि ट्राफिक जामको समस्या समेत समाधान हुन्छ ।’ उनले बसपार्क सञ्चालनको लागि केही अवरोध भएपनि समग्रमा सबै क्षेत्रको सकारात्मक सहयोग प्राप्त भइरहेको बताए ।
समितिका उपाध्यक्ष सुरेन्द्र बुढाथोकीले अब सबै यात्रुवाहक सवारीसाधनहरुले बस टर्मिनलको उत्तरपट्टिबाट प्रवेश गरी उत्तरपश्चिमको विन्दूमा पुगी यात्रु ओराल्ने र गणतन्त्र मार्ग हुँदै सिधै प्यारिभिट्टा बसपार्कमा लगेर पार्किङ गर्ने व्यवस्था मिलाइएको बताए ।
उनका अनुसार आफ्नो पालो आएपछि पुनः टर्मिनलमा तोकिएको समयमा स्टेण्ड लगाउन आउने र आफ्नो टाइमकार्डका आधारमा गन्तव्यतर्फ प्रस्थान गर्ने व्यवस्था मिलाइनेछ ।
काँकरभिट्टा बसपार्कमा यातायातको चाप र सिटि रिक्सा लगायतले थप समस्या सिर्जना हुँदै गएको कारण काँकरभिटालाई ब्यवस्थित गर्न प्यारिभिट्टा बसपार्क सञ्चालन गर्नुको विकल्प नभएको पूर्वी बस व्यवसायी प्रालीका अध्यक्ष विष्णुकुमार श्रेष्ठले बताए ।
उनले बस सञ्चालनकोलागि टायमकार्ड लागुगरेर यातायातको चापलाई नियन्त्रण गर्न सकिने बताए । टाइमकार्ड लागु भएपछि टर्मिनलमा गाडीको भिडभाड कम हुने भएकोले पानीटेंकीबाट नेपाल आएका सिटिरिक्साहरुलाई समेत सोही स्थानमा व्यवस्थित गर्न सकिने उनको भनाई थियो ।
बसपार्क निर्माणको लागि स्थानीय शिवकुमार थापा, धुव्र शिवाकोटीलगायत १२ जनाले साढे ६ विगाह जमिन निःशुल्क प्रदान गरेपछि बसपार्क निर्माणको काम अघि बढेको थियो ।


वि.सं. २०६८ असार १९ गते शिलान्यास गरी दमकको लामा मैनाचुली शिवशक्ति जेभीले ठेक्का लिएर २ वर्षमा निर्माण सम्पन्न गरेको बसपार्क वि.सं. २०७४ भदौ १५ गते तत्कालीन नगरप्रमुख विमल आचार्य र संस्थापक नगरप्रमुख रविन कोइरालाले संयुक्त रुपमा उद्घाटन समेत गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु