प्रेस चौतारी झापाको २६ औं स्थापना दिवस सम्पन्न

2024-02-05 मा प्रकाशित

झापा, २२ माघ । प्रेस चौतारी झापाले २६ औं स्थापना दिवस शनिवार विर्तामोड स्थित नेत्रपार्कमा सम्पन्न गरेको छ ।
प्रेस चौतारी झापाका अध्यक्ष मनकुमार गदालको सभापतित्व तथा प्रतिनिधिसभाकी पूर्व उपसभामुख शिवमाया तुम्वाहाम्फेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि तुम्वाहाम्फेले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक पीडित पक्षको भावना सम्बोधन हुनेगरी तत्काल टुङ्ग्याउनुपर्ने बताएकी छिन् ।
शान्ति प्रक्रियासँग जोडिएको यस्तो सम्वेदनशील विषयमा सरकारले बहुमतको आधारमा विधेयक अनुमोदन गर्ने प्रयास नगर्न उनले सुझाव दिइन् । “पीडित पक्षको भावना के हो भन्ने कुरालाई बिर्सन हुँदैन,” उनले भनिन् –“संक्रमणकालीन न्यायको सवालमा विधेयक पारित गर्दा सर्वोच्च अदालतको फैसलालाई समेत ध्यान पुर्याउनु पर्छ ।”
कार्यक्रममा प्रेस काउन्सिलका सदस्य गणेश पोखरेल, नेकपा एमाले केन्द्रीय सदस्य मेनुका काफ्ले, जिल्ला सचिव शिव ढुंगेल, नेपाल पत्रकार महासंघ कोशीका कोषाध्यक्ष विमल लामिछाने, महासंघ झापाका सचिव डिकेस लामा, नारी सञ्चार गृहकी अध्यक्ष रेजिना गौतम लगायतले बोलेका थिए ।
प्रेस चौतारी झापाले स्थापना दिवसको अवसरमा संस्थाका पूर्व अध्यक्ष तोयानाथ दाहाल उपेक्षितलाई सम्मान गरेको छ । संस्थाले विगत बर्षदेखि प्रेस चौतारीको पूर्व अध्यक्षलाई सम्मान गर्दै आएको छ । सम्मानसहित उपेक्षितलाई नगद रु. २५ हजार समेत प्रदान गरिएको छ ।
प्रेस चौतारी झापाका उपाध्यक्ष प्रदिप परियारको स्वागत गरेको कार्यक्रमको सञ्चालन तिलक योञ्जनले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु