हिमालयन लाइफ इन्स्योरेन्सले शुरु गर्यो झापाबाट बीमा जागरण अभियान

2024-02-18 मा प्रकाशित

बिर्तामोड । जीवन बीमा क्षेत्रमा छुट्टै पहिचान स्थापित गर्दै अघि बढेको हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले झापा जिल्लाबाट बीमा जागरण अभियान शुरु गरेको छ ।

जनस्तरसम्म बीमा बारे जनचेतना फैल्याउने उद्धेश्यले जागरण अभियान शुरु गरिएको प्रमुख कार्यकारी अधिकृत मनोजकुमार लाल कर्णले जानकारी दिए ।

कम्पनीले झापाको बिर्तामोडमा शुक्रबार र शनिबार दुई दिने जागरण अभियान सम्पन्न गरेको छ । बिर्तामोडको सिटी सेन्टरमा आयोजित कार्यक्रमको पहिलो दिन सर्वसाधारण, जनप्रतिनिधी तथा विभिन्न संघसंस्थाका प्रतिनिधीहरुको उपस्थितीमा कार्यक्रम सञ्चालन गरिएको थियो ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै चेम्बर अफ कमर्श झापाका अध्यक्ष ओमकृष्ण बिमलीले नेपालमा बीमा सम्बन्धि चेतना जनस्तरसम्म भर्खर मात्र पुग्न शुरु गरेको बताए । मानिस जन्मने बित्तिकै बीमा गर्ने र सानो सानो गरी जम्मा गरेको पैसाले जोखिमबहनसँगै उच्च शिक्षाका लागि उपयोग गर्ने वातावरण सिर्जना गरिनुपर्ने धारणा राखे ।

त्यस्तै बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले बीमा प्रत्येक नागरिकको जीवनमा आवश्यक भएको बताए । बीमा बुझेर सबैले गर्नुपर्ने उनको भनाई थियो ।

बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा प्राधिकरणले सबै बीमा कम्पनीहरुलाई नियमन गरिरहेकाले ढुक्क भएर बीमा गर्न सबैलाई आग्रह गरे ।

हिमालयन लाइफका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार लाल कर्णले हिमालयन लाइफको बारेमा जानकारी दिँदै बीमा सुरक्षा कवचको रुपमा प्रत्येक व्यक्तिका लागि आवश्यक भएकाले जागरण अभियान शुरु गरिएको बताए ।

कार्यक्रमको दोस्रो दिन शनिबार बीमा कम्पनीका शाखा प्रमुखहरु, बीमा अभिकर्ताहरु र विद्यार्थीहरुको उपस्थितीमा कार्यक्रम गरिएको थियो ।

बीमा प्राधिकरणका निर्देशक दिनेशकुमार लालले बीमा कम्पनीका कर्मचारीहरुलाई प्राधिकरणको ऐन र निर्देशिकाभित्र रहेर पोलिसी जारी गर्न आग्रह गरे । उनले बीमा मर्यादित पेशा भएको भन्दै अभिकर्ता र विद्यार्थीहरुलाई बीमा पेशाप्रतिको आकर्षणबारे जानकारी गराए ।

कार्यक्रममा बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेल, हिमालयन लाइफका सिइओ मनोजकुमार लाल कर्ण, कोशी प्रदेश प्रमुख भुपराज पराजुलीलगायतले आफ्ना भनाई राखेका थिए ।

कार्यक्रममा बीमा प्राधिकरण कोशी प्रदेश प्रमुख विनोद पोख्रेल, हिमालयन लाइफका प्रदेश उपप्रमुखद्वय नविन मिश्र र सुरेन्द्र कुमार लाल कर्णलगायतको उपस्थिती रहेको थियो ।

जागरण अभियान देशभर सञ्चालन गरिने कम्पनीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु