मेचीनगरका ६वटा स्वास्थ्य केन्द्रमा टेलिमेडिसन उपकरण

2020-09-01 मा प्रकाशित

मेचीनगर, १६ भदौ । केएचडीसी नेपालले मेचीनगरका ६ वटा स्वास्थ्य उपचार केन्द्रमा टेलिमेडिसिन प्रविधि जडान गरिदिएको छ ।

धरानको वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित केएचडीसी नेपालले धुलावारी प्राथमिक स्वास्थ्य केन्द्रसहित ज्यामिरगढी, काँकरभिट्टा, दुहागढी, धाइजन र बाहुनडाँगी स्वास्थ्य चौकीमा लाखौंको उक्त प्रविधि सित्तैमा जडान गरिदिएको हो ।

कोभिड १९ का कारण टाढाको सुविधासम्पन्न हस्पिटलमा पुग्न नसक्ने स्थानीय निम्नवर्गीय समुदायलाई टेलिमेडिसन प्रविधिको प्रयोग गरेर वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका विशेषज्ञ डाक्टरहरुले स्वास्थ्य परामर्श दिन यो प्रविधि जडानपछि सुविधा पुग्ने ज्यामिरगढी स्वास्थ्य चौकीका प्रमुख दिवाकर पौडेल बताउँछन् ।

ज्यामिरगढीमा उपकरण हस्तान्तरण अवसरमा नेपाली कांग्रेसका मेचीनगर सभापति इन्द्र बुढाथोकी, धुलावारी क्याम्पसका प्रमुख पुष्प पौडेल, कांग्रेसका मेचीनगर १५ का वडा सभापति गोविन्द घिमिरेलगायतको उपस्थिति थियो ।

उपकरण हस्तान्तरण गर्न केएचडीसी नेपालका प्रतिनिधि आशिक मोक्तान आएका थिए ।

सो अवसरमा हरेक स्वास्थ्य उपचार कार्यालयलाई एक थान डेक्सटप कम्प्युटर, एक थान हेडसेट, एक थान स्पीकर, एक थान युपीएस, एक थान प्रिन्टर, एक थान हाइस्पीड इन्टरनेट सुविधा, ४ थान पीपीई, ४० थान एन ९५ मास्क, १०० थान सर्जिकल मास्क र ५ लिटर ह्यान्ड सेनिटाइजर प्रदान गरिएको दातृसंस्थाका प्रतिनिधि मोक्तानले जानकारी दिएका छन् ।वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राडा सञ्जीव शर्माको पहलमा मेचीनगरका स्वास्थ्य उपचार केन्द्रहरुले टेलिमेडिसन सुबिधा पाएको धुलावारी क्याम्पसका प्रमुख पुष्प पौडेलले बताए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु