आदर्श माविको सफलतामा मेचीनगर बन्यो बाधक, भवन निर्माणको रकम मेचीनगरले रोकेको विद्यालयको दावी

2024-02-29 मा प्रकाशित

मेचीनगर, १७ फागुन । आदर्श माध्यमिक विद्यालयको नवनिर्मित भवनकोलागि संघीय सरकारबाट प्राप्त विशेष अनुदानको रकम मेचीनगर नगरपालिकाले रोक्न कार्यपालिकाको निर्णय सहित सिफारिस पठाएको भन्दै विद्यालयले आपत्ति जनाएको छ ।

विद्यालयले विहीबार पत्रकार सम्मेलन गरेर विद्यालयले संघीय सरकारबाट विशेष अनुदानको रूपमा ल्याएको बजेट रोक्न, नगरपालिकाले सिफारिस नगर्ने निर्णय गरेको जानकारी दिएको हो ।

विद्यालयको स्तरउन्नति र पूर्वाधारका लागि संघीय सरकारले ३ वर्षमा सक्ने गरि १८ कोठाको सुविधा सम्पन्न भवन निर्माणका लागि ६ करोड ९ लाख १३ हजार ४८६ रूपैयाँ बजेट छुट्टाएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्णबहादुर खड्काले बताए ।

उनका अनुसार क्रमागत बजेट अन्तरगत पहिलो चरणमा एक करोड १५ लाख बजेट आएर विद्यालयको ८ कोठाको भवन निर्माण भइरहेको छ । गत पुस ६ गते उक्त भवनको शिलान्यास मेचीनगरका मेयर गोपाल चन्द्र बुढाथोकीले गरेका थिए, खड्काले भने– ‘अहिले उहीँ मेयर, उपमेयर मीना पोखरेल उप्रेतीले अब आउने बाँकी रकम रोक्ने निर्णय गरेर विद्यालयलाई सिफारिस दिएनन् ।’

उनले भने –‘दोस्रो चरणको किस्ताका लागि बजेट माग गर्न राष्ट्रिय योजना आयोगमा नगरपालिका मार्फत सिफारिस पठाउनु पर्ने थियो । तर, नगरपालिकाले सिफारिस नगरेर उल्टै बजेट नपठाउनु भनेर रोक्ने सिफारिस पठाएको छ ।’

नगरपालिकाले गत माघ २८ गते उक्त माविको भवनका लागि दोस्रो र तेस्रो किस्ताको बजेट रोक्ने निर्णय गरेर राष्ट्रिय योजना आयोगमा पठाएको विद्यालयका प्रधानाध्यापक कृष्ण पुरीले बताए ।

गत आइतबार नगरपालिकामा यस विषयमा छलफल भएको थियो । छलफलमा उपमेयर उप्रेतीले आदर्श माविको अब आउने बजेट काटेको बताएको प्रअ पुरीले पत्रकार सम्मेलनमा जानकारी गराएका थिए ।

उक्त बजेट अन्य विद्यालयमा पठाउने नगरपालिकाको योजना छ । तर, यस विद्यालयमा आएको विशेष अनुदानको बजेट अन्य विद्यालयमा लान नसक्ने अध्यक्ष खड्काको जिकिर छ ।

माथिबाट विद्यालयले ल्याएको बजेट हो, खड्काले भने– ‘नगरपालिकाले ठेक्का लगाए पनि प्रक्रियाका लागि मात्र सिफारिस गर्ने हो ।’ यस विषयमा नगरपालिकाका मेयर बुढाथोकीले विशेष अनुदानमा आएको बजेट नगरपालिकालाई आएको दावी गरेका छन् ।

‘यो आर्थिक वर्षको क्रमागत बजेट अन्तरगत यसपटक आदर्श माविलाई दियो । अबको बाँकी बजेट अन्य २ वटा विद्यालयका लागि सिफारिस गरेर पठाइएको छ’, उनले भने ।

उनका अनुसार अर्को वर्षका लागि ज्यामिरगढी मावि र चारआलीको शहिद दशरथ चन्द माविलाई बजेट ल्याउने गरिको सिफारिस गरिएको छ ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु