मेचीनगरमा सशस्त्रको खुकुरी प्रहारबाट ६ जना घाइते

2024-03-01 मा प्रकाशित

मेचीनगर । झापाको मेचीनगरमा सशस्त्र प्रहरी र सामान ओेसारपसार गर्ने स्थानीयबीच शुक्रबार साँझ झडप भएको छ। झडपको क्रममा सशस्त्र प्रहरीको खुकुरी प्रहारबाट केही स्थानीय घाइते भएका छन्। घाइतेहरूको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचार भइरहेको जनाएको छ।

मेचीनगर नगरपालिका ७ स्थित गैरीगाउँमा तस्करीको सामान बरामद गर्ने क्रममा दुवै पक्षबीच झडप भएको थियो। सोही क्रममा घटनास्थल पुगेका प्रस्तावित सिमा सुरक्षा गुल्म, काँकडभिट्टाका कोट मास्टर र चालकले खुकुरी निकालेर एक्कासी प्रहार गरेको स्थानीयले आरोप लगाएका छन्। खुकुरी प्रहारबाट दीपा बातरको हातको औंला काटिएको छ। हरि बातरको छातीमा गहिरो चोट लागेको छ।

विषेश राजबंशी र मिलन चापागाईंको हात काटिएको छ। दीपक बातर र आनह यादवको शरिरमा चोट लागेको छ। भारतबाट सामान ल्याउनेलाई सशस्त्र प्रहरीले रोक्न खोज्दा झडप भएको र त्यसक्रममा स्थानीय र सशस्त्र प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाका एसपी मिलन केसीले बताए।

घटनाबारे अनुसन्धान भइरहेको उनले जानकारी दिए। हालः पाँच जना स्थानीय र एकजना सशस्त्र घाइते भएको जानकारी आए पनि अन्य पनि घाइते भएको हुनसक्ने भएकाले सोधपुछ गरिरहेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डीएसपी दीपक भारतीले बताए। अन्नपूर्ण पोष्टबाट

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु