धुलाबारी माविको ७२ औं वार्षिक उत्सवमा गणित प्रदर्शन

2024-03-02 मा प्रकाशित

धुलाबारी । धुलाबारी माध्यमिक विद्यालयले बिबिध कार्यक्रमका साथ शुक्रबार ७२ औं वार्षिकउत्सव सम्पन्न गरेको छ ।
कार्यक्रममा विद्यार्थीहरुको रोचक नृत्य, गायन प्रस्तुत गरिएको थियो भने यो सँगै कार्यक्रमको अर्काे आकर्षण भने विद्यार्थीहरुको गणित प्रदर्शनी थियो । गणित विषयलाई सजिलो भाषामा बुझाउन यस किसिमको प्रदर्शनी गरिएको विद्यालयका सहायक प्रधानाध्यापक तेजप्रसाद चम्लागाईंले बताए । विद्यालयले यस अघि विज्ञान प्रदर्शनी गर्दै आएको थियो ।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष गणेश विक्रम नेम्बाङको सभापतित्व तथा मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि बुढाथोकीले धुलाबारी माध्यामिक विद्यालयले शिक्षामा छुट्टै पहिचान स्थापित गर्दै अघि बढेको बताए । योग्य नागरिक निर्माण गर्न युग अनुकुल शिक्षा दिनु पर्ने बताएका प्रमुख अतिथि बुढाथोकीले धुलाबारी माविले युग अनुसारको गुणस्तरीय शिक्षा प्रदान गरिरहेको र धेरै विद्यालयहरुले धुलाबारीलाई नजिकबाट नियाली रहेको बताए । प्राविधिक शिक्षामा फड्को मारेको धुलाबारी माविले भेटनरी शिक्षा प्रदानगरेर पशु प्राविधिक समेत उत्पादन गरिरहेको र हालै सामुदायिक कुकुर बन्ध्याकरण शिविर सञ्चान गरेर स्वागत योग्य काम गरेको भन्दै विद्यालय परिवारको प्रशंसा गरे ।
कार्यक्रममा ७ जना शिक्षकलाई सम्मान गरिएको थियो । दीर्घ सेवा सम्मान, उत्कृष्ट वर्ष शिक्षक सम्मान, उत्कृष्ट कर्मचारी सम्मान उत्कृष्ट अभिभावक सम्मान, धुलाबारी मावि आइडल घोषणा र पुरस्कार, एन सिसि क्याडेड सम्मान, अक्षयकोष घोषणा, कोपिला सदनको विशेष प्रस्तुती, विभिन्न जातीय भेषभुषा प्रदर्शनी लगायतका कार्यक्रम रहेको शिक्षक निरन गौतमले जानकारी दिए ।
कार्यक्रममा बिशिस्ट अतिथि जिल्ला समन्वय समितिका संयोजक राजकुमार बिक लगायतले बोलेका थिए ।
विद्यालयका प्रधानाध्यापक रोहिणीबिलाश लुइँटेलले वार्षिक प्रगतिसहितको प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा स्थानीय समाजसेबी उदयकुमार पनेरुले २ लाख बढी रकमको अक्षयकोषको घोषणा गरेका थिए । विद्यालयका सहायक प्रधानाध्यापक तेजप्रसाद चौलागाईंले स्वागत गरेको कार्यक्रमको सञ्चालन शिक्षक रमेश दाहाल र मिलनकुमार ढुंगानाले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु